पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । नेपाल सुपर लिग (एनएसएल)- २०२३ को उपाधी ललितपुर सिटी फुटबल क्बलको पोल्टामा परेको छ । दर्शकले भरिभराउ दशरथ रंगशालामा शनिबार सम्पन्न फाईनल खेलमा धनगढी फुटबल क्बललाई ३–२ ले पराजित गर्दै ललितपुरले उपाधी कब्जा गरेको हो ।

ललितपुरलाई उपाधी दिलाउन इमो इजिकेलको २ र दिनेश हेन्जनले १ गोल गरे । उपविजेतामा सीमित भएको धनगढीको तर्फवाट ओलावाले अफिज र मोहम्मद हिजाजीले समान १–१ गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने धनगढीले लिएको थियो । आफिज ओलावालाले ३७ औं मिनेटमा गोल गरे । हिजाजीले गरेको प्रहार ललितपुरका फ्रान्सेली गोलरक्षक जेफरी विल्लीले रिबाउण्डको अवसर दिएपछि ओलावालाले सहजै गोल गरे । ललितपुरका लागि इमो इजिकेलले पहिलो हाफको इन्ज्युरी समयमा फ्रि किकबाट सुन्दर गोल गरे । इजिकेलले २५ यार्डबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा आक्रमक फुटबल पस्केको ललितपुरले ५० औं मिनेटमा अग्रता बनायो । आदित्य शाक्यको पासमा दिनेश हेमजनले सजिलै गोल गरे । खेलको ५८ औ मिनेटमा इजिकेलले ओभरहेड किक मार्फत उत्कृष्ट गोल गरे ।

खेलको ७९ औं मिनेटमा रिचर्ड ओसेइ दोहोरो पहेंलो कार्ड खादै मैदान छाडेपछि धनगढी १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा हिजाजीले हेड मार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्याएका थिए ।

उपाधी उचालेको लिलितपुरले ७० लाख रुपैयाँ हात पारेको छ भने उपविजेता धनगढीले २० लाखमा चित्त बुझायो । लिग चरणमा चौथो स्थानमा रहदै सेमीफाईनल पुगेको ललितपुले त्यसपछि लगातार ३ खेल जित्नै उपाधी उचालेको हो । अघिल्लो संस्करणमा समेत उपविजेतामा सीमित भएको धनगढीले यस पटक पनि उपाधी जित्न सकेन ।

व्यक्तिगत विधा तर्फ लतिपुरको बर्चस्व

नेपाल सुपर लिग (एनएसएल)- २०२३ मा व्यक्तिगत विधा तर्फ ललितपुर सिटी फुटबल क्लबले बर्चस्व जमाएको छ । ललितपुरका कप्तान अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २ लाख रुपैयाँ हात पारे । ललितपुरकै जेफ बाल्टुस उत्कृष्ट गोलरक्षक बने । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी र प्रतियोगिता भरी ६ गोल गरेका इमोह एजेकेल सर्वाधिक गोलकर्ता बने । तीनै जना खेलाडीले १-१ लाख पाए । वीरगन्ज युनाइटेडले फेयर प्लेको उपाधी पायो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ०२ बजे