पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । केशरसिंह–मनु राई स्मृति रनिङ कपको उपाधी न्यू स्टार झापाको पोल्टामा परेको छ । याङवरक गाउँपालिका–१, च्याङथापु बजारमा बुधबार सम्पन्न फाइनलमा च्याङथापु स्पोर्टिङ क्लवलाई १–० ले पराजित पार्दै झापाले उपाधी कब्जा गरेको हो ।

न्यू स्टार झापालाई उपाधी हात पार्न पहिलो हाफको इन्जुरी समयमा सौगात तामाङले गरेको गोल नै निर्णायक बन्यो । सुरुवात देखि दवाव सिर्जना गरेको झापाले गोलका लागि पहिलो हाफको अन्तिम समय सम्म कुर्न परेको थियो । दोस्रो हाफमा आक्रमक खेल खलेको च्याङथापु स्पोर्टिङ क्लवले पटक पटक आक्रमण गरे पनि गोल गर्न असफल रह्यो । दोस्रो हाफमा दुवै टिमको गोल गर्ने प्रयास सफल हुन नसकेपछि झापा १–० को झिनो अन्तरले उपाधी कब्जा गर्न सफल भयो ।

प्रतियोगिताको विजेता न्यू स्टार झापाले नगद १ लाख ७५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र हात पा उपविजेतामा सीमित च्याङथापु स्पोर्टिङ क्लवले नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

महिला तर्फकाे उपाधी नाम्साङ जनसरोकार समाज याङनामलाई

केशरसिंह–मनु राई स्मृति रनिङ कपको महिला तर्फ नाम्साङ जनसरोकार समाज याङनामले उपाधी हात पारेको छ । न्यू लाइट युनाइटेड क्लव ताप्लेजुङलाई १–० ले पराजित गर्दै याङनामले उपाधी हात पारेको हो ।

याङनामलाई उपाधी दिलाउन खेलको एक मात्र गोल तिर्थ लिम्बूले गरिन् । उपाधी हात पारेको याङनामले नगद १ लाख रुपैंयाँ , ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ । प्रतियोगिता द्धितीय स्थान हाँसिल गरेको ताप्लेजुङले गद ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगिता सञ्चालन गर्न केशरसिंह–मनु राई परिवारले प्रयोजन गरेका थिए । प्रतियोगिता स्वर्गीक मार्ग संघ नेपाल याङवरक–१ च्याङथापुको आयोजनामा सम्पन्न भएको हो । गत पौष ३ गतेदेखि सुरु भएको प्रतियोगितामा झापा, पाँचथर, ताप्लेजुङ साथै भारतको सिक्किमका खेलाडीहरुले समेत सहभागिता जनाएका थिए ।

फाईनल पश्चात आयोजित साँस्कृतिक कार्यक्रममा चर्चित गायिका मेचु धिमाल सहितका कलाकारहरुले प्रस्तुती राखेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : ४२ बजे