पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । ताप्लेजुङमा सम्पन्न च्याब्रुङ नाच (केलाङ) प्रतियोगिताको उपाधी धिमाले याक्थुङ केलाङ सयङ याङवरक–२, पाँचथरले हात पारेको छ । फुङलिङ स्थित भानुजन माविको मैदानमा बुधबार सम्पन्न प्रतियोगितामा पाँचथरले उपाधी हात पारेको हो ।

चासोक तङ्नामको अवसरमा आयोजित प्रतियोगितामा उपाधी हात पार्न पाँचथरले सहभागी ६ समूहलाई पछि पारेको थियाे। प्रतियोगिताको उप–विजेता आनी साक्थिम प्रशिक्षण केन्द्र ताप्लेजुङ बनेको छ । ताप्लेजुङकै किरात याक्थुङ चुम्लुङ लिम्बू कलाकार परिषद् तृतीय बनेको छ ।

प्रतियोगिताको उपाधी विजेता केलाङ सयङले नगद ५० हजार हात पारेको छ । यसै गरी उपविजेता आनी साक्थिमले ३० हजार र तेस्रो स्थान हाँसिल गरेको लिम्बू कलाकार परिषद्ले २० हजार नगद हात पारेको छ ।

प्रतियोगिताको लागि कम्तीमा १६ जना हुनुपर्ने र सुरु गरेको १५ मिनेटको समयमा समापन गरिसक्नु पर्ने नियम बनाइएको थियो । प्रतियोगितामा नाँचको शैली, खुट्टाको चाल, भाका, भेषभुषा, राखिने सगुन आदिलाई आधार मानेर निर्णय गरिएको निर्णायक मण्डलले जानकारी दिएको छ । निर्णायक मण्डलमा सुरज मादेन, गणेश सेनेहाङ लिम्बू र ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई रहेका थिए ।

उपाधी विजेता धिमाले केलाङ सयङले यसअघि याङवरक गाउँपालिका ५ स्थित याङसिबुङमा आयोजित प्रतियोगितामा समेत प्रथम स्थान हाँसिल गर्दै नगद रु २५ हजार पुरस्कार पाएको थियो । लगातार उपाधी हात पार्दै आएको सयङमा कलाकारहरु श्यामबहादुर, निलम, रमेश, सञ्जय, देविका र कलावती बेघा रहेका छन्। अन्य कलाकाहरु रेनु, आकांक्षा, विरेश, नविना, लक्ष्मी, सुहाना र इन्द्रबहादुर बेघाले प्रस्तुती राखेका थिए । यसै गरी, सयङमा पाङफेहाङ थाम्सुहाङ, रमेश माङमु समेत संलग्न रहदै आएका छन् ।

विवाहका साथै विभिन्न उत्वसहरुमा नाचिने च्याब्रुङ नाँच (के लाङ) लिम्बू जातिको ऐतिहासिक संस्कृति हो । पछिल्लो समय यो संस्कृति लोप हुन लागेको भन्दै सरोकारवालाहरुले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : २७ बजे