पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । नेकपा (एमाले)ले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आज सम्पन्न भएको छ ।
पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान सम्पन्न भएको घोषणा गर्नुभएको हो । एमालेका केन्द्रीय पदाधिकारीहरु, स्थायी कमिटी तथा पोलिटब्यूरोका सदस्यहरु, केन्द्रीय कमिटीका सदस्यहरु, जनप्रतिनिधिहरु लगायत उक्त अभियान सम्पन्न गर्न आज विहान चिवाभञ्ज्याङ आइपुग्नु भएको थियो ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गको अन्तिम विन्दू वैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरुआत भएको अभियान आज पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको हो । झण्डोत्तलनका अतिरिक्त अध्यक्ष ओलीले यहाँ निर्माण गरिएको यात्राको प्रतिक स्तम्भको अनावरण समेत गर्नुभयो । उक्त कार्यक्रमका लागि आसपासको क्षेत्रबाट एमाले समर्थक तथा कार्यकर्ताहरु उक्त स्थानमा पुगेका थिए ।
अभियान सम्पन्न भएपछि एमाले अध्यक्ष ओली, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल र सुरेन्द्रप्रसाद पाण्डे तथा महासचिव शंकर पोखरेल हेलिकप्टरमार्फत फिदिम फर्कनु भएको छ भने उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवसहितका नेताहरु पैदल मार्ग हुँर्द फिदिम फर्कनु भएको छ । यसअघि पाँचथरको फिदिममा हिँजो एमालेले सन्देश सभा आयोजना गरेको थियो भने आज पाँचथरको याङवरक—१ च्याङथापूमा कोणसभा आयोजना गरेको थियो ।
तीन हजार १२८ मिटरको उचाईमा अवस्थित चिवाभञ्ज्याङ भारतको सिक्किम प्रान्तसँग सीमा जोडिएको स्थान हो । स्थानीयवासीले लामो समयदेखि सीमा नाका स्थापनाको माग गरिरहेको चिवाभञ्ज्याङमा एमालेको यात्रा टुङ्गिने क्रममा ठूलो संख्या नेता तथा कार्यकर्ताहरु पुगेका थिए । अभियानले चिवाभञ्ज्याङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, नाका स्थापनाका लागि सहयोग गर्न मद्दत मिल्ने च्याङथापूका ताराकुमार खालिङको भनाई छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : ४३ बजे