पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । जिल्ला सदरमुकाम फिदिम वजारमा ५० शैयाको जिल्ला अस्पताल पाँचथरकाे भवन शुक्रबार उद्घाटन भएको छ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहनबहादुर बस्नेतले एक कार्यक्रमका बीच अस्पतालकाे भवन उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अस्पताललाई आवश्यक जनशक्ति उपलब्ध गराउनुका साथै नर्सिङ पारामेडिक्स कक्षा सञ्चालनको व्यवस्था मिलाउने बताए । “पाँचथरलाई एकजना एनएसथेसिया डाक्टरको प्रबन्ध हुन्छ”- उनले भने- “पाँचथरमै नर्सिङ पारामेडिक्स कक्षा सञ्चालनको प्रबन्ध गरिनेछ ।”

चिकित्सा शिक्षाको सन्दर्भमा ५० शैयाको अस्पतालले नर्सिङ कक्षा र ३ सय शैया भन्दा माथिका अस्पतालले एमबीबीएस कक्षा सञ्चालन गर्न पाउनु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुन थालेको बताउँदै जनशक्ति उत्पादनका लागि चिकित्सक शिक्षा ऐन संशोधन गर्नु पर्ने उनले बताए । मन्त्री बस्नेतले चाँडै नै स्वास्थ्य क्षेत्रमा व्यापक सुधार हुने आश्वासन दिए ।

अस्पताल उद्घाटन कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

यसअघि १५ शैया मात्र स्विकृत रहेको जिल्ला अस्पताल अघिल्लो वर्ष नयाँ भवन बनेसँगै ५० शैयामा स्तरोन्ती गरिएको थियो । नयाँ भवनवाट सेवा सुचारु गरे पनि स्विकृत दरबन्दी अनुसार जनशक्ति नहुँदा अस्पतालवाट विरामीले सेवा लिन समस्या हुँदै आएको छ । दरबन्दी अनुसार जनशक्ति उपलब्ध नभएपछि स्थानीय तह सहितका निकायहरुवाट सहयोग जुटाई करारमा डाक्टर नियुक्त गरी सेवा प्रवाह गर्नु पर्ने बाध्यता रहेको अस्पताल विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : ५९ बजे