पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । तेस्रो संस्करणको सिरिजङ्गा गोल्डकपको उपाधि देउराली स्पोर्टिङ क्लब सन्दकपुर इलामको पोल्टामा परेको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका ४ तेल्लोकमा शुक्रबार सम्पन्न फाइनलमा न्युस्टार क्लब झापालाई २–० ले हराउँदै इलामले उपाधि पोल्टामा पारेको हो ।

उपाधी कब्जा गर्ने क्रममा इलामले दुवै हाफमा समान १–१ गोल गरेको थियो । पहिलो हाफको २२ औं मिनेटमा उपहार गोल मार्फत इलामले अग्रता बनाएको थियो । इलामका कप्तान बिनोद धमलाले गरेको प्रहार झापाका अविशेक लिम्बूवाट डिफ्लेक्ट हुँदै जाली चुमेपछि इलाम १–० को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफको ११ औं मिनेटमा पिकेश लोक्तामले फ्रिकिक मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि उपाधी इलामको पोल्टामा परेको हो ।

विजेता बनेको इलामले नगद २ लाख २ हजार २ सय २२ रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । यसै गरी, उपविजेतामा सीमित झापाले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । दुवै टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय उर्मीला थेबेले पुरस्कार तथा ट्रफि हस्तान्तरण गरिन् ।

सिरिजङ्गा सिं थेवेको ३१९औँ जन्म जयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको निर्णायक गंभीरहाङ नेम्बाङले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : १४ बजे