पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । वाईवाई अन्तराष्ट्रिय आमन्त्रण प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताको उपाधी डाँगीहाट फुटबल क्लब (डीएफसी) मोरङले उचालेको छ । फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा बिर्तामोड युनाइटेड क्लब झापालाई २–१ ले हराउँदै मोरङले उपाधी उचालेको हो ।

उपाधी हात पार्ने क्रममा डीएफसी मोरङले सुरुवात देखि नै आक्रमक फुटबल खेलेको थियो । पहिलो हाफको पहिलो मिनेटमा नै मोरङका सञ्जय धिमाल गोल नजिक पुगेका थिए । विपक्षी खेलाडीले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै उनले गरेको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले कठिन गरी बचाएका थिए । सातौ मिनेटमा मोरङका पृथ्बी चौधरीले गरेको लामो प्रहारलाई झापाका गोलकिपर लिम्बूले पञ्च गर्दै बाहिर फालिदिए । खेलको नवौ मिनेटमा डीएफसीका सञ्जय धिमालले गोल गरेर आफ्नो टिमलाई १–० अग्रता दिलाए । पृथ्वी चौधरीले लामो दुरीवाट उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उनले सुन्दर गोल गरे । १६ औ मिनेटमा मोरङका उमेश कार्कीले फ्रिकिकवाट गरेको शक्तिशाली प्रहारलाई झापाका गोलकिपरले बचाए । २६ औ मिनेटमा झापाका प्रदिप बुढाथोकीले हेडवाट गरेको प्रहार मोरङका गोलकिपर प्रमिजय गच्छादारले सहजै नियन्त्रणमा लिए । पहिलो हाफको थप गरिएको समयमा मोरङका उमेश राईले गोल गरेर खेल २–० को स्थितिमा पु¥याए । उनले मैदानको मध्य भागवाट एक्लै बल अगाडि वढाएर झापाको डिफेन्स तोड्दै सेकेण्ड बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको १० औं मिनेटमा झापाका श्याम मुर्मुले गरेको प्रहार विपक्षी खेलाडीमा डिफ्याक्ट हुँदै पोष्टमा लागेर बाहिरिएपछि झापाले गोल अन्तर गर्ने अवसर गुमाएको थियो । ३२ औ मिनेटमा झापाको गोल पोष्टमा बल छिरेपनि त्यसलाई रेफ्रीले मान्यता दिएनन् । झापाका गोलकिपरलाई विपक्षी खेलाडीले फउल गरेर बल प्रहार गरेको हुनाले गोलको मान्यता नपाएको हो । ३४ औं मिनेटमा झापाका विक्रम तामाङले लामो रेञ्जवाट फ्रेमभित्र गरेको प्रहार गोलकिपरले नियन्त्रणमा लिए । दोस्रो हाफको इञ्जुरी समयमा झापाका लागि कप्तान योगेश गुरुङले गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याए । डीएफसीका गोल किपरको प्रहारलाई गोल पोष्ट लाइन नजिकै रहेका गुरुङले नियन्त्रणमा लिँदै सोझै गोलमा परिणत गरेका थिए । बाँकी समयमा गोल नभएपछि मोरङको पोल्टामा उपाधी परेको हो ।

प्रतियोगिताको उपाधी विजेता मोरङले ४ लाख ४ हजार ४ सय ४४ नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पा¥र्यो । उपविजेता झापाले २ लाख २ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । उपाधी हात पारेका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री माननीय कमल जवेगूले पुरस्कार हस्तान्तरण गर्नु भयो । यसै गरी, उपविजेतामा सीमित भएका विर्तामोडका खेलाडीहरुलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पुरुस्कार रकम वितरण गर्नु भयो ।

व्यक्तिगत विधामा मोरङको बर्चस्व

उपाधी कब्जा गरेको डीएफसी मोरङले व्यक्तिगत विधा तर्फ पनि बर्चस्व कायम ग¥र्यो । उत्कृष्ट गोल किपर मोरङका प्रमिजय गच्छादार चयन भए । मोरङका मानबहादुर मुखिया र उमेश कार्की क्रमशः उत्कृष्ट डिफेन्स र मिडफिल्डर घोषित भए भने उत्कृष्ट कोच मोरङकै राज लिम्बू चयन भए । राईजिङ प्लेयर्स आयोजक पाँचथर फुटबल क्लबका शुक्रराज राई घोषित भए । विधातग रुपमा उत्कृष्ट स्थान हाँसिल गर्ने कोच तथा खेलाडीहरुले जनही १० हजार पुरस्कार पाए । प्रतियोगिता भरी ३ गोल गरेका मोरङका सञ्जय धिमालले हाई स्कोररको उपाधी हात पारे । उनले रु १५ हजार पुरस्कार पाए । म्यान अफ दी टुनामेन्ट अभिशेक लिम्बू घोषित भए । उनले २५ हजार पुरस्कार पाए । फाईनल खेलको म्यान अफ दी म्याच भने विर्तामोडका प्रदिप बुडाथोकी घोषित भए । उनले ५ हजार पुरस्कार पाए ।

फाइनलमा तीन पहेलो कार्ड

किरात गोल्डकपको फाईनलमा तीन पहेँलो कार्ड प्रयोग भएको छ । पहिलो हाफको १२ औं मिनेटमा डीएफसी मोरङका उमेश कार्कीले पहेँलो कार्ड पाए । बल जित्ने क्रममा विपक्षी खेलाडीलाई हातले तानेपछि उनलाई कार्ड दिइएको थियो । दोस्रो हाफको २३ औ मिनेटमा मोरङकै अभिशेक लिम्बूले पहेँलो कार्ड पाए । पेनाल्टी जित्ने धुनमा विपक्षीको डीबक्स भित्र लडेपछि उनलाई पहेँलो कार्ड दर्शन गराइएको थियो । यसै गरी, खेलको नियमित समय सकिन ८ मिनेट अगाडि मोरङकै पृथ्बी चौधरीले समेत पहेको कार्ड पाए । बल क्लियर गर्ने क्रममा अगाडि वढेका विर्तामोडका गोलकिपरलाई फउल गरेपछि उनलाई कार्ड दिइएको थियो ।

पाँचथर फुटबल क्लबद्धारा आयोजित प्रतियोगितामा गत मंसिर १६ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा भारतको दार्जेलिङ र काठमाण्डौको ए डिभिजन क्लब सहित ८ टिमको सहभागिता रहेको थियो । विषम परिस्थितिका वावजुत पहिलो संस्करणको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै आगामी संस्करणका प्रतियोगिता समेत नियमित रुपमा आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ९ : ५० बजे