पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । वाईवाई अन्तराष्ट्रिय आमन्त्रण प्रथम किरात गोल्डकप फुटबल प्रतियोगितामा कर्णसिंह सोनाम स्मृति क्बल ताप्लेजुङलाई हराउँदै बिर्तामोड युनाइटेड क्लब झापा फाइनल प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा बिहिबार सम्पन्न अन्तिम सेमिफाइलमा २–१ को जित निकाल्दै झापा फाइनल प्रवेश गरेको हो ।

खेलमा १–० ले पछि परेको स्थिति उल्टाउँदै झापाले जित हाँसिल गरेको हो । खेलको ८ औं मिनेटमा ताप्लेजुङका दिपेश लिम्बुले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा ताप्लेजुङका डिफेन्डरले बल क्लियर गर्ने क्रममा हातले बल छोए पछि झापाले पेनाल्टीको अवसर पाएको थियो । त्यसलाई झापाका रोमन भुजेलले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा झापाका प्रदिप बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई २–१ ले अग्रता दिलाए ।

दोस्रो हाफमा ताप्लेजुङले बल पोजिसन बढाउँदै झापा विरुद्ध लगातार आक्रमण गरे पनि गोल गर्न सकेन । खेलको अन्तिम समयमा ताप्लेजुङ मनजित येङदेनको शक्तिशाली प्रहारलाई झापाका गोलरक्षकले कठिन गरी बचाउ गरे ।

खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी बने । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले ५ हजार रुपैयाँ हस्तान्तरण गरे ।

प्रतियोगिताको फाइनलमा विर्तामोड युनाईटेड झापाले डाँगीहाट फुटबल क्बल मोरङको सामना गर्नेछ । फाईनल खेल आगामि शनिबार हुने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । यसैगरी हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार, उत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ दि सिरिजले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : ४२ बजे