पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । वाईवाई अन्तराष्ट्रिय आमन्त्रण प्रथम किरात गोल्डकप फुटबल प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्बललाई हराउँदै डाँगीहाट फुटबल क्लब मोरङ उपाधी नजिक पुगेको छ । फिदिम माविको खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइलमा पेनाल्टी सुटआउटमा ४–१ को जित निकाल्दै मोरङ उपाधी नजिक पुगेको हो ।

निर्धारित ८० मिनेटको समयमा कुनै टिमबाट गोल नभएपछि अतिरिक्त समय नखेलाई सोझै पेनाल्टी सुटआउट गर्ने निर्णय लिइएको थियो । दुवै टिमले गोल गर्ने राम्रो अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल रहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा बलमाथि पोजिसन वढाउँदै पाँचथरले पटक–पटक आक्रमण बुने पनि गोल गर्न सकेन । मोरङको स्ट्राईकिङ लाईनलाई पाँचथरका अनुभवी डिफेन्स अशोक खवासले पटक पटक निस्तेज पारेका थिए । निर्धारित समयको अन्त्यतिर मोरङका खेलाडीले खेल पेनाल्टी सुटआउट तर्फ धकेल्न डिफेन्सिभ खेलेका थिए ।

पेनाल्टी सुटआउटमा मोरङका खेलाडीले पाँचथरका गोलकिपरलाई कुनै मौका दिएनन् । मोरङवाट पेनाल्टी प्रहार गरेका उमेश कार्की, उमेश राई, सञ्जय धिमाल र अभिशेक लिम्बू गोल गर्न सफल भए । पाँचथरको तर्फवाट दोस्रो प्रहार गरेका असिम राईले मात्र गोल गरे भने रोशन आङदेम्बे र प्रकाश धमला गोल गर्न चुके । पहिलो बल लिएका कप्तान आङदेम्बको प्रहार आकासियो भने धमलाको प्रहारलाई मोरङका गोल रक्षक प्रमिजय गच्छादारले सानदार बचाउ गरेका थिए ।

खेलको म्यान अफ दि म्याच मोरङका गोल रक्षक प्रमिजय गच्छादार बने । उनले नगद ५ हजार प्राप्त गरे । उनलाई नेपाली कांग्रेसका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पुरस्कार वितरण गरे ।

बिहिबार हुने अन्तिम सेमिफाक्नइलमा कर्णसिंह सोनाम स्मृति क्बल ताप्लेजुङले बिर्तामोड युनाइटेड क्लब झापाको सामना गर्नेछ । प्रतियोगिताको फाईनल खेल आगामि शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । यसै गरी, हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार, उत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ दि सिरिजले २५ हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : १८ बजे