पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । वाईवाई अन्तराष्ट्रिय आमन्त्रण प्रथम किरात गोल्डकप फुटबल प्रतियोगितामा काठमाण्डौको ए डिभिजन क्लब हिमालयन शेर्पालाई स्तब्ध पार्दै कणसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा शेर्पा विरुद्ध ४-३ रोमाञ्चक जीत निकाल्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

ताप्लेजुङले खेल सुरु भए लगत्तै गोल गरेर प्रतिष्ठित क्बल विरुद्ध दवाव सिर्जना गरेको थियो । खेलको ३ मिनेटमै ताप्लेजुङका मन्जित येङ्देनले गोल आफ्नो टिमलाई १-० ले अगाडि बढाए । शेर्पाका गोलकिपर क्रिशल मोक्तान अगाडि वेढेको अवस्थामा येङ्देनले चलाखीपूर्ण रुपमा चिप गरेर बललाई पोष्टको दिशा दिए । २१ औँ मिनेटमा शेर्पाका लागि विदेशी खेलाडी ओस्कारले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ४० औँ मिनेटमा ताप्लेजुङका प्रविण जवेगुले गोल गरेर पहिलो हाफमा आफ्नो टिमलाई २-१ अग्रता दिलाए ।

दोस्रो हाफ लगत्तै शेर्पाले बराबरी गोल फर्कायो । ५१ औँ मिनेटमा शेर्पाका बसन्त ओझाले गोल गर्दै खेल २–२ को स्थितिमा पु¥याए । ६२ औं मिनेटमा दिपेश लिम्बूले गोल गरेर ताप्लेजुङलाई ३-२ अग्रता दिलाए । ६९ औँ मिनेटमा शेर्पाले आत्मघाती गोलको उपहार मार्फत बराबरी ग¥र्यो । ताप्लेजुङका आशिष लिम्बूले गोल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेपछि खेल ३-३ को रोमाञ्चक मोडमा पुगेको थियो । प्रतिस्पर्धात्मक खेलको ७७ औं मिनेटमा ताप्लेजुङका प्रविण जवेगुले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेर टिमलाई पुनः अग्रता दिलाए । खेलको बाँकी समयमा कुनै पनि गोल नभएपछि विदेशी खेलाडी सहित मैदान उत्रिएको शेर्पा क्बल स्तब्ध बन्दै प्रतियोगितावाट बाहिरिन बाध्य भयो।

खेलको म्यान अफ दी म्याच ताप्लेजुङका गोलरक्षक आकाश लिम्बू बने । उनलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले नगद रु ५ हजार हस्तान्तरण गरे ।

बुधबार हुने पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर फुटबल क्लबले मोरङको डाँगीहाट फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसै गरी, बिहिबार हुने अन्तिम सेमिफाईनलमा ताप्लेजुङले बिर्तामोड युनाइटेड झापाको सामना गर्नेछ । प्रतियोगिताको फाईनल खेल आगामि शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्ने छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : ४३ बजे