पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । गोलको वर्षा भएको वाईवाई अन्तराष्ट्रिय आमन्त्रण प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाईनल खेलमा डाँगीहाट फुटबल क्बल मोरङ विजयी भएको छ । फिदिम माबिको खेलमैदानमा सोमबार भएको खेलमा छिमेकी मुलुक भारतको युनाइटेड दार्जेलिङ फुटबल क्लबलाई ६–३ ले हराउदै मोरङले जित हात पारेको हो ।

सुरुवाती समयमा राम्ररी संहालिन नपाउँदै मोरङका उमेश राईले गोल गरेर पाहुना टोली दार्जेलिङ माथि दबाब सिर्जना गरेका थिए । उनले खेलको ८ औं मिनेटमा अरुण लिम्बूले उपलब्ध गराएको पास सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए । ३९ औं मिनेटमा मोरङले अग्रता दोब्बर बनायो । मोरङका सुजन धिमालले मैदानको मध्यभागबाट बल अगाडि वढाएर आकर्षक फिनिसिङ गरे । पहिलो हाफको इन्जुरी समयमा मोरङका अरुण लिम्बूले रिबाउन्ड बललाई जाली चुमाए । उमेश राइको प्रहार पोष्टमा लागेर फर्किएको बलमा उनले अवसर पाएका थिए । पहिलो हाफमा मोरङसँग दार्जेलिङ ३–० ले पछाडि रह्यो ।

दोस्रो हाफ सुरु भए लगत्तै मोरङले लगातार आक्रमण बुन्दै अग्रता वढाएको थियो । ४२ औं मिनेटमा मोरङका सुजन लिम्बूले थप गोल गर्दै खेल ४–० को स्थितिमा पु¥याए । यो उनको व्यक्तिगत दोस्रो गोल थियो । खेलको ४४ औं मिनेटमा अभिशेष लिम्बूले गोल गर्दै मोरङलाई ५–० को फराकिलो अन्तरमा पु¥याए । दार्जिलिङका रोहित थापाले ५३ औं मिनेटमा गोल गरे । लगत्तै ५७ औं मिनेटमा आशिष राईले डिबक्स भित्रवाट शक्तिशाली प्रहार मार्फत गोल गर्दै खेलमा फर्किने संकेत गरे । ६१ औं मिनेटमा मोरङका अभिशेक लिम्बूले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौं गोल गर्दै मोरङलाई फराकिलो जित दिलाए । ७६ औं मिनेट दार्जेलिङका गणेश लिम्बूले गोल गरे पनि जितको लागि पर्याप्त भएन ।

म्यान अफ दी म्याच बनेका मोरङका अभिशेष लिम्बूले ५ हजार रुपैयाँ प्राप्त गरे । उनलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिका सहसचिव गजेन्द्र राईले पुरस्कार हस्तान्तरण गरे । अब हुने सेमिफाइनलमा मोरङले आयोजक पाँचथर फुटबल क्लबको सामना गर्नेछ ।

मंगलबार हुने अन्तिम क्वाटर फाईनल खेलमा कर्णसिङ सोनाम स्मृति क्लब, ताप्लेजुङ र हिमालयन शेर्पा क्लब, काठमाण्डौबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्ने छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ३१ बजे