पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । वाईवाई अन्तराष्ट्रिय आमन्त्रण प्रथम किरात गोल्डकप फुटबल प्रतियोगितामा विर्तामोड युनाईटेड क्लब झापाले रेडहर्स फुटबल क्लब इलामलाई हराएको छ । फिदिम माविको खेल मैदानमा आईतबार सम्पन्न दोस्रो क्वाटर फाईनलमा झापाले इलामलाई १–० ले हराएको हो ।

झापाका लागि एक मात्र निर्णायक गोल श्याम मुर्मुले गरे । खेलको २२ औ मिनेटमा क्रसवाट पाएको अवसरलाई सुन्दर गोलमा परिणत गर्दै उनले आफ्नो टिमलाई १–० को अग्रता दिलाए । पहिलो हाफकाे थप समयमा कुनै पनि टिमवाट गोल नभए पछि झापाले अग्रता कायम राखेको थियो । दोस्रो हाफमा समेत दुवै टिमले कुनै गोल गर्न नसकेपछि मुर्मुको गोल नै झापालाई सेमिफाईनलमा पु¥याउन निर्णायक बन्यो ।

पहिलो हाफको दोस्रो मिनेटमा नै इलामले गोलपोष्ट नजिकै पाएको फ्रिकिक सदुपयोग गर्न सकेन । इलामका निकेश तामाङले प्रहार गरेको बलले गोलपोष्टको दिशा लिएन । तेस्रो मिनेटमा झापाका श्याम मुर्मु वान भर्सेस वानमा चुके । झापाका प्रदिप वुढाथोकी ३८ औं मिनेटमा वान भर्सेस वानमा गोल गर्न असफल भएपछि झापाले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो ।

पहिलो हाफको तुलनामा आक्रमक रणनीति सहित मैदान उत्रिएका दुवै टिमले दाेस्राे हाफमा राम्रो अवसर सिर्जना गरेका थिए । दोस्रो हाफको २२ औ मिनेटमा इलामका शेखर राईको प्रहारले पोष्टको दिशा लिएन । २९ औ मिनेटमा श्याम मुर्मुलाई विपक्षी खेलाडीले डिबक्स भित्र फउल गरेको भन्दै झापाका खेलाडीले पेनाल्टीका लागि गरेको अपिललाई रेफ्रीले अस्विकार गरिदिए । ३१ औं मिनेटमा इलाम गोल नजिक पुगेको थियो । थ्रोवाट डिबक्स भित्र आएको बललाई इलामका खेलाडीले हेड मार्फत दाँया एङ्गल तर्फ गोलपोष्टको दिशा दिए पनि झापाका गोलकिपर सन्दिप लिम्बूले कठिन रुपमा बाहिर पठाई दिए ।

दाेस्राे हाफको ३३ औं मिनेटमा इलाम वान भर्सेस वानमा चुके पछि बराबरी गर्ने अवसर गुमाएको थियो । त्यसको एक मिनेट पछि नै झापाका मुर्मुको शक्तिशाली प्रहारलाई इलामका गोलकिपर विवेक मगरले उत्कृष्ट बचाउ गरे । झापाका कप्तान योगेश गुरुङले ३८ औं मिनेटमा गरेको शक्तिशाली प्रहार गोल पोष्ट भन्दा माथिवाट बाहिरियो । पारश कार्कीले ४० औं मिनेटमा वान भर्सेस वानको अवसर खेल फालेपछि झापाले अग्रता दोब्बर पार्ने प्रयास असफल भएको थियो ।

झापाका कप्तान योगेश गुरुङले दोस्रो हाफको २६ औ मिनेटमा पहेलो कार्ड पाएका थिए । रेफ्रीसँगको विवाद पछि उनलाई कार्ड देखाइएकाे थियो ।

खेलको म्यान अफ दि म्याद झापावाट एक मात्र निर्णायक गोल गरेका श्याम मुर्मु चयन भए । उनलाई फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले पुरस्कार वापत ५ हजार नगद हस्तान्तरण गरे ।

प्रतियोगितामा सोमबार डि.एफ.सि. मोरङ र भारतको युनाईटेड फुटबल क्लब दार्जेलिङबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितको उद्घाटन खेलमा गत शनिबार आयोजक पाँचथर फुटबल क्लबले मितेरी फुटबल क्लब तेह्रथुमलाई २–० ले पराजित गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ३६ बजे