पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो संस्करण शनिबार फिदिममा सुरु भएको छ । पाँचथर फुटबल क्लबकाे आयोजनामा सञ्चालित प्रतियाेगिता फिदिम माविको खेल मैदानमा सुरू भएकाे हाे।

प्रतियोगिताको उद्घाटन खेलमा मितेरी क्लव तेह्रथुम विरुद्ध २–० को सहज जित निकाल्दै आयोजकले विजयी सुरुवात गरेको छ । समय अभावले गर्दा ६० मिनेट मात्र खेलाइएको खेलको पहिलो हाफमा दुवै टोलीको गोल गर्ने प्रयास असफल भएको थियो । दोस्रो हाफको १३ औँ मिनेटमा आयोजकका शुकराज राईले बललाई जाली चुमाए पछि आयोजक १–० ले अगाडि बढेको थियो । खेलको इञ्जुरी समयमा आयोजकका विशाल भण्डारीले फ्रिकिक मार्फत सुन्दर गोल गरेपछि तेह्रथुम २–० ले पछि परेको हो ।

विदेशी खेलाडिसहित ठूलो प्रतियोगितामा पहिलो पटक मैदान उत्रेको तेह्रथुमले गोल गर्न पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । खेलको अन्त्यतिर वान भर्सेस वान सहित दुई पटक पाएको सुन्दर अवसर तेह्रथुमका खेलाडीले गोलमा परिणत गर्न सकेनन् ।

खेलको अन्त्यतिर तेह्रथुमका दुई खेलाडीले रातो कार्ड पाएपछि तनावपूर्ण स्थिति सिर्जना भएको थियो । रेफ्री राजु थापा मगरले पेपे र ग्गोरेलाई रातो कार्ड दिएपछि खेलाडी र अफिसियल्स रेफ्रीमाथि खनिएका थिए । विवाद साम्य पार्न प्रहरी नै खेल मैदान छिर्नु परेको थियो । थप गरिएको समय मध्ये अन्तिम दुई मिनेट नखेली तेह्रथुमका खेलाडीले मैदान छाडेपछि रेफ्रीले खेल सकिएको घोषणा गरेका थिए ।

खेलको म्यान अफ द म्याच आयोजकका विशाल भण्डारी घोषित भए । उनले नगद पाँच हजार पाए । उनलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लव र भारतको दार्जेलिङ सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । यसैगरी हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार, उत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ दि सिरिजले २५ हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते हुनेछ ।

प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका मन्त्री माननीय सम्सेर राईले गर्नु भएको थियो । उद्घाटन सत्रमा मन्तव्य राख्ने क्रममा मन्त्री राईले दक्ष जनशक्तिले मात्र मुलुकको हित गर्न सक्ने बताउनु भयो । “मुलुक समृद्ध बन्न दक्ष जनशक्ति आवश्यक हुन्छ”– उहाँले भन्नु भयो– “जनशक्ति भनेको डाक्टर, इञ्जिनियर मात्र हैनन्, खेलकुद क्षेत्रका राम्रा खेलाडीहरु पनि मुलुक पहिचान र विकास गराउने जनशक्ति हुन् ।” प्रदेश सरकारको तर्फवाट खेलकुद क्षेत्रको विकासका लागि सहयोग गरिने समेत उहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : ५१ बजे