पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बूङमा सम्पन्न खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधी तिजोक यूवा क्लव नवमीडाँडाले हात पारेको छ ।

बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा आयोजक टु-स्टार ग्रामिण सिर्जनशील क्लव इम्बुङलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै तिजोक यूवा क्लवले उपाधि चुमेको हो ।

सत्यहाङ्मा माविको खेलमैदानमा आयोजित प्रतियोगिताको फाईनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । थप गरिएको ३ मिनेटको अतिरिक्त समयको सदुपयोग गर्दै तिजोक यूवा क्लवका दिपेश राईले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि प्रतिस्पर्धी आयोजकका तर्फबाट खेलमा कुनै गोल हुन नसकेपछि सोहि गोल निर्णयक बन्दै तिजोक यूवा क्लवलाई जित दिलाएको हो ।

उपाधि जितेसँगै तिजोक यूवा क्लवले १ लाख ५ हजार रुपैयाँ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र हात पारेको छ । फाइनलमा पराजित भएसँगै उपविजेता बनेको आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लव इम्बुङले ६५ हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु प¥यो ।

प्रतियोगिताका विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, विशेष अतिथि फाल्गुनन्द २ का वडाध्यक्ष सन्तोष कुमार नेम्वाङ, फुटबल प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक जेट्ली सिंगर हार्डवेयर तथा यातायात प्रा.लि.का प्रोपाइटर सुभास सिंगर लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

विगत लामो समयदेखि कात्तिके पूर्णिमाको अवसरमा प्रत्येक वर्ष इम्बूङमा लाग्दै आएको वराहक्षेत्र मेला तथा फुट्बल प्रतियोगिता यस वर्ष मंसिर ८ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा पाँचथर जिल्लाका विभिन्न स्थानका १६ टिमले सहभागिता जनाएको आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवका अध्यक्ष अर्जुन नेम्वाङले वताउनु भयो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : १३ बजे