दिपक दुलाल
नवमीडाँडा । बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. २, इम्बूङमा खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लव रातोलाई पराजित गर्दै अभ्यास एण्ड अनुभव क्लवले विजय शुरुवात गरेको छ । सुरुवाती खेलमा अभ्यास एण्ड अनुभव क्लवले आयोजक रातोलाई २–० गोल अन्तरले हराउँदै विजय सुरुवात गरेको हो ।
कात्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्तिके पूर्णिमा मेलासँगै स्थानीय टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा सञ्चालित खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगितामा पाँचथर जिल्लाका विभिन्न स्थानका १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
स्थानीय सत्यहाङ्मा माविको खेलमैदानमा सञ्चालन भइरहेको यस वर्षको पुरुष फुट्बल प्रतियोगिताको बिजेताले १ लाख ५ हजार र उपविजेताले ६५ हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवका अध्यक्ष अर्जुन नेम्वाङले जानकारी दिनुभयो ।
बराहक्षेत्र कात्तिके पूर्णिमा मेला तथा खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको एक कार्यक्रमकाबीच फाल्गुनन्द गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सन्तोष कुमार नेम्वाङले उद्घाटन गर्नुभएको थियो ।
विगत लामो समयदेखि कात्तिके पूर्णिमाको अवसरमा प्रत्येक वर्ष इम्बूङमा लाग्दै आएको वराहक्षेत्र मेला तथा फुट्बल प्रतियोगिता यस वर्ष आगामि मंसिर १३ गतेसम्म सञ्चालन हुन लागेको आयोजक संस्थाका अध्यक्ष नेम्बाङले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ७ : २२ बजे







प्रतिक्रिया