पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । विश्‍वकप क्रिकेट २०२३ को उपाधी अस्ट्रेलियाले उचालेको छ । भारतको अहमदावाद स्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा आईतबार भएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधी उचालेको हो ।

भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा पूरा गर्दै विश्‍वकप क्रिकेटको उपाधी हात पारेको हो । अस्ट्रेलियाको सुरुवात भने राम्रो हुन सकेन । ओपनर डेभिड वार्नर ७ र मिचेल मार्स १५ रनमा आउट भए । यसैगरी, स्टिभन स्मिथ ४ बनाउँदै आउट भएपछि एक सयम अस्ट्रेलिया ४७–३ को दयनीय अवस्थामा पुगेको थियो । भारतका मोहम्द सामीले पहिलो र जसप्रित बुमराहले दोस्रो र तेस्रो विकेट लिएका थिए । त्यसपछि ब्याटिङमा आएका ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले राम्रो साझेदारी गरेपछि अस्ट्रेलिया जित तर्फ लम्किएको थियो । ट्राभिसले १२० बलमा १३७ रन बनाउँदै सतकीय पारी खेले । यस्तै, मार्नुसले पनि ११० बलमा ५८ रन बनाएर अविजित रहे ।

फाइनलमा टस जितेको अस्ट्रेलियाले पहिले ब्याटिङका लागि भारतलाई निम्तो दिएको थियो । अस्ट्रेलियाको कसिलो बलिङ, उत्कृष्ट फिल्डिङ सामु भारतका ब्याडस्मेनहरु खुलेर खेल्न सकेनन् । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २४० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतले ३० रन जोड्दा पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई गुमाएको थियो । गिल मात्र ४ रन बनाएर मिचेल स्टार्कको बलमा आउट भएका थिए । भारतीय कप्तान रोहित शर्मा ३१ बलमा ४७ रन बनाउँदै दोस्रो विकेटका रुपमा आउट भए । उनी म्याक्सवेलको बलमा ट्राभिसले मिड अफमा उत्कृष्ट क्याच गरेपछि पेभेलियन फर्किएका थिए ।

त्यसपछि ब्याटिङमा आएका श्रेयस अ‍ैय्यर पनि मात्र ४ रन बनाएर आउट भए । विराट कोहली ५४ रनको व्यक्तिगत स्कोरमा क्युम्मिन्सको बलमा बोल्ड भए । केएल राहुल ६६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए भने अन्य ब्याट्समेनहरु पनि सस्तैमा आउट भएका थिए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा जोस हेजलवुड र प्याट क्युम्मिन्सले २–२ विकेट लिएका थिए ।

एकदिवसीय विश्वकप क्रिकेट २०२३ को एक मात्र अपराजित टोली भारत फाइनलमा भने अस्ट्रेलिया सामु निरिह भयो । अहमदावाद स्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा उपस्थित करिब १ लाख ३० हजार घरेलु दर्शकलाई स्तब्ध पार्दै अस्ट्रेलियाले किर्तिमानी छैटौं पटक उपाधी हाँसिल गरेको हो ।

तस्विर सौजन्य : आईसीसी फेसबुक पेज

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : ३५ बजे