पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । दीपावली मेला फुटबल प्रतियोगिताको उपाधी डीएफसी (दारिम्बा फुटबल क्लब) ले चुमेको छ । पाँचथरको याङवरक गाँउपालिका ४ स्थित थर्पू क्याम्पसको खेल मैदानमा बिहिबार सम्पन्न फाइनल खेलमा छिमेकी टिम नागीलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पछि पार्दै डीएफसीले उपाधी चुमेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरे पछि उपाधी हाेड ट्राईबेकरमा धकेलिएको थियो । दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए । डीएफसीका जमिन लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि खेलको अन्तिम समयमा नागीका बुद्ध योङ्हाङले गोल गरेपछि खेलको निर्धारित समय बराबरीमा सकिएको थियो ।

प्रतियोगिताको विजेता टिमले ९९ हजार ९ सय ९९ रुपैँया नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पा¥यो भने उपबिजेताले ५० हजार नगद, ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो । व्यक्तिगत विधा तर्फ नागीका बुद्ध योङ्हाङ फाईनल खेलको म्यान अफ दी म्याच घोषित भए । नेपाल तरुण दलका मंगल सावदेन उत्कृष्ट किपरको रुपमा पुरस्कृत बने भने डीएफसीका प्रकाश धमला उत्कृष्ट डिफेण्डर चुनिए । प्रतियोगिता अवधिभर ४ गोल गरेका डीएफसीका दिनेश लिम्बू सार्वाधिक गोलकर्ता बने भने डीएफसीकै जमिन लक्सम म्यान अफ दी टुनामेन्ट घोषित बने ।

प्रतियोगिताको बिजेता, उपविजेता तथा व्यक्तिगत विधा तर्फ उपाधी हासिल गर्ने खेलाडीहरुलाई मेला समापन समारोहका प्रमुख अतिथि फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङबो, नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेदन्द्रकुमार केरुङ, वडाअध्यक्ष लगायतका अतिथिहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

क्याम्पस मोड मेला व्यवस्थापन समितिले दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । पाँच दिनसम्म चलेको मेलामा फुटबल, भलिबल, ब्याडमिन्टन लगायतका खेलहरु आयोजना गरिएको समितिका अध्यक्ष सन्तोष काम्वाङले जानकारी दिनु भयो ।

भलिबल प्रतियोगिताको उपाधी मेहेले टाईगरलाई

दीपावली मेला भलिबल प्रतियोगिताको उपाधी मेहेले टाईगर ताप्लेजुङले जितेको छ । पाँचथरको याङवरक गाँउपालिका ४ स्थित थर्पू क्याम्पसको खेल मैदानमा बिहिबार सम्पन्न फाइनल खेलमा ताप्लेजुङकै थुम्बेदिन भालिबल टिमलाई २५–२०, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित गर्दै मेहेले उपाधी जितेको हो ।

बिजेता बनेसँगै मेहेलेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त ग¥यो । उपबिजेता बनेको थम्बेदिनले ३० हजार नगद, ट्रफी मेडल र प्रमाण-पत्रमा चित्त बुझायो । थुम्बेदिनका अमृत थेबे अल राउण्डर र प्रकाश लिम्बू उत्कृष्ट ब्लकर घोषित भए । मेहेलेका राज कँडेल उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत बने ।

प्रतियोगिताको बिजेता, उपविजेता तथा व्यक्तिगत विधा तर्फ उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरुलाई समापन समारोहका अतिथिहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

तस्विर साैजन्य : नरेन्द्रकुमार केरूङ

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ५३ बजे