पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार हेटौंडामा सम्पन्न विशेष साधारण सभाले अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्धको बर्खास्तीको प्रस्ताव अस्विकृत गरेको छ ।

साधारण सभामा जम्मा ८६ मतदाता मध्ये ५३ जनाको मत खसेको थियो । खसेको मत मध्ये बर्खास्तीको विपक्षमा ५२ मत परेको थियो भने १ मत बदर भएको थियो । मतदान प्रक्रियामा ३४ जनाले भाग लिएनन् ।

तोकिएको समय भन्दा ढिला मात्र सुरु भएको साधारण सभामा असन्तुष्ट पक्षले आफ्ना कुरा राख्न माग गरेको समय नपाएपछि विवाद समेत भएको थियो । साधारण सभाको उद्घाटन सत्र समेत नगरी बन्द सत्र सुरु गरिएको थियो । नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका कारण उनले अध्यक्षता गर्न नमिल्ने र वरिष्ट उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्षता गर्न नमानेपछि सभाको उद्घाटन सत्र नै नभएको एक सहभागीले बताए ।

एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै भदौ २५ गते प्रस्ताव पेश गरेको थिए । एन्फा कार्यसमितिको असोज १७ गते बसेको बैठकले विशेष साधारण सभामा एक मात्र प्रस्ताव अध्यक्ष नेम्बाङको बर्खास्तीका सम्बन्धमा छलफल गर्ने निर्णय गरेको थियो । बैठकले महासचिव राईको बर्खास्तीको विषयमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिले निर्णय गर्ने क्षेत्राधिकार पर्ने भएकोले सो पदकाे सम्बन्धमा साधारण सभामा प्रस्ताव प्रस्तुत नगर्ने निर्णय समेत गरेको थियो ।

एन्फा अध्यक्ष नेम्वाङ २०७९ असार ६ गते निर्वाचित भएका थिए । एन्फामा अविश्वासको प्रस्ताव सामना गर्ने नेम्बाङ पहिलो अध्यक्ष हुन् । अध्यक्ष विरुद्धको अविश्वासको प्रस्ताव पास हुन दुई तिहाई मत आवश्यक पर्छ । अध्यक्ष नेम्बाङ विरुद्धको अविश्वासको प्रस्ताव अस्विकृत भएसँगै उनको कार्यकालले निरन्तरता पाउने भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ७ : ५८ बजे