पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम स्व. शेरबहादुर गुरुङ स्मृति कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि छाँया केरुङ र शैलेस आङदेम्बेको जोडिले हात पारेका छन् । जिल्ला सदरमुकाम स्थित जिससको ब्याडमिन्टन हलमा बुधबार आयोजित फाईनल खेलमा जय नेम्बाङ र भीम केरुङको जोडिलाई पराजित गर्दै केरुङ र आङदेम्बेको जोडिले उपाधि हात पारेका हुन् ।

ब्याडमिन्टन संघ, पाँचथरद्धारा आयोजित प्रतियोगिताको फाईनल खेलमा उपविजेता सीमित जय नेम्बाङ र भीम केरुङको जोडी २१–९ र २१–९ को सोझो सेटमा पराजित भएका थिए । प्रतियोगितामा उपाधि हाँसिल गर्ने टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान सहितका अतिथिहरुले पुरस्कार वितरण गर्नु भयो । विजेताले रु १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले रु १० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।

समापन समारोहका प्रमुख अतिथि मोक्तानले खेलकुदका माध्यमवाट शारीरिक मानसिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने बताउनु भयो । प्रतियोगिता अयोजना गर्दा पूर्व तयारी राम्रो गर्नु पर्ने समेत उहाँको सुझाव रहेको थियो । यसैगरी, फालेलुङ गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले खेलकुदका क्षेत्रमा राज्यले लगानी गर्नु पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघका पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना अपरिहार्य रहेको बताउनु भयो । यसका लागि विभिन्न निकायहरुसँग समन्वय गर्नु पर्ने उहाँको सुझाव रहेको थियो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको संघका उपाध्यक्ष सागर थापा मगरले बताउनु भयो । प्रतियोगितामा बी र सी स्तरका खेलाडीहरुको सहभागिता रहेको थियो । फिदिम नगरपालिका वडा नं. ७ का स्व. शेर बहादुर गुरुङ वि.स. २००४ असार २० गते जन्म भई २०७६ साउन २७ गते दिवंगत हुनु भएकोले उहाँको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न संघलाई प्रायोजन गरिएको उनकी श्रीमती दिलमाया गुरुङले बताउनु भयो ।

समापन समारोहमा प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने दाताहरु, अम्पायर तथा लाईन जर्जहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । ब्याडमिन्टन संघ पाँचथरका निवर्तमान अध्यक्ष रामबीर राईको अध्यक्षता सम्पन्न समापन समारोहलाई सचिव मंगल बेघाको सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : १७ बजे