पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१९ कात्तिक २०८० शुक्रबार
मंगल बेघा

पाँचथर । ओमानले टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि जितेको छ । टियू क्रिकेट मैदानमा आईतबार सम्पन्न फाईनल खेलमा नेपाललाई पराजित गर्दै ओमानले उपाधि हात पारेको हो ।

सुपर ओभरमा धकेलिएको रोमाञ्चक खेलमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याएको नेपालले १० रन मात्र बनाएपछि उपाधि ओमानको पोल्टामा पुगेको हो । सुपर ओभरमा पहिला ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । नेपालले जवाफी ब्याटिङमा कुशल भुर्तेल र गुल्सन झालाई उतारेको थियाे । तर पहिलो बलमै भुर्तेल आउट हुन पुगे । त्यसपछि आएका कुशल मल्लले २ चौका प्रहार गरे पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ओमान सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरीमा पुगेको थियो । ओमानलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा सन्दीप लामीछानेले २ विकेट र १ रन आउटसहित ३ विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकियो । ओमानका लागि ओपनर कश्यप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए । अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन बनाए ।

नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २–२ विकेट लिए । यसैगरी गुल्सन झा, विवेक कुमार यादव, सोमपाल कामी र अभिनाश बोहराले समान १–१ विकेट लिए ।

त्यसअघि नेपालले गुल्सन झा र कप्तान रोहित पौडेलको अर्धशतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । झाले २० बलमा ४ छक्का र ५ चौकाको मद्दतमा टी–२० अन्तर्राष्ट्रीयमा पहिलो अर्धशतक प्रहार गरे । कप्तान रोहित पौडेलले ३६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे । यो टी–२० अन्तर्राष्ट्रीयमा पाँचौं अर्धशतक हो ।

ओमानका लागि विलाल खानले ३, अकिव इलियासले २ र कप्तान जिसन मक्सुदले १ विकेट लिए ।

व्यक्तिगत विधा तर्फ क–कसले पाए उपाधि ?
नेपालका गुलशन झाले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट युवा खेलाडीको अवार्डका रुपमा पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउने भएका छन् । झाले ५ खेलमा ७९ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । नेपालका कुशल भुर्तेल प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा १ अर्धशतकसहित कुल १ सय ८५ रन बनाएका थिए ।

ओमानका अकिब इल्यास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । अकिबले प्रतियोगितामा ओमानलाई अपराजित रहँदै उपाधि जिताउन १ सय रन बनाउनुको साथै १० विकेट लिएका थिए । ओमानकै बिलाल खान प्रतियोगिता उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए ।

तस्विर सौजन्य– एनसीएसएस

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ४७ बजे