पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि नेपाल छनोट भएको हो ।
यूएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपाललाई जित दिलाउन ओपनर आसिफ शेखले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ६३ बनाए । कप्तान रोहित पौडेल २१ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहे । अर्का ओपनर कुशल भुर्तेल ८ बलको सामना गर्दै २ चौका प्रहार गरी ११ रनमा आउट भए । गुल्शन झाले २४ बलमा ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईका निलान्श केस्वानी र बसिल हमिदले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । यूएईका वृत्या आनन्दले ५१ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए । कप्तान एवं मोहम्मद वासिमले १६ बलमा ३ चौका र २ छक्काको मद्दतमा २६ रन बनाए । अलिसान सराफु १६ र आसिफ खानले १३ रन बनाए ।
नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन मात्र खर्चेर ३ विकेट लिए । सन्दिप लामिछानेले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए । उनले १८ औं ओभर विकेट मेडन राखेका थिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए । उनले नै यूएईका अनुभवी ब्याट्समेन वासिमको महत्वपूर्ण विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए ।
नेपालले यसअघि विश्वकप २०१४ मा बंगलादेशमा विश्वकप खेलेको थियो । नेपालले दशकपछि ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान रहेको छ । ट्वान्टी–२० विश्वकप आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।
फाईनलमा प्रतिद्वन्द्वी ओमान
ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा नेपालको प्रतिद्वन्द्वी ओमान हुने भएको छ । कीर्तिपुर स्थित टियू खेल मैदानमा सम्पन्न अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालसँग फाईनल भिडन्त पक्का गरेको हो । वहराईनले दिएको १ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा पूरा गर्दै फाईनल यात्रा तय गरेको हो । सेमिफाईनलमा बहराईनलाई पराजित गरेसँगै ओमानले विश्वकप यात्रा समेत तय गरेको छ । नेपाल र ओमानबीचको फाईनल खेल आईतबार टियू खेलमैदानमा हुनेछ । समूह चरणको रोमान्चक खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो ।
पाँचथरमा दिप प्रज्वलन
नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएको खुशियालीमा पाँचथर जिल्लाको सदरमुकाम फिदिम वजारमा शुक्रबार साँझ दिप प्रज्वलन गरिएको छ ।
नेपाल क्रिकेट संघ पाँचथर शाखाको आयोजनामा दिप प्रज्वलन गरिएको हो । खेलाडीहरुलाई हौसला बढाउन दिप प्रज्वलन गरिएको संघका अध्यक्ष सुमन लामाले बताउनु भयो ।
तस्विर सौजन्य– एनसीएसएस

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : ४३ बजे