पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । डिभिजन वन कार्यालय, फिदिम पाँचथरमा कार्यरत लेखापाल अनिल कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै श्रीमती र ससुराबिरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी परेको छ । झापाको कमल गाँउपालिलका – ६ मा स्थाई बसोबास भएका ३६ वर्षीय कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै श्रीमती र ससुराबिरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी परेको हो । उजुरी परेसँगै श्रीमती चाहना पोखरेल र ससुरा पुण्यप्रसाद पोखरेललाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए ।
कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतकका मामा खेमबहादुर वुढाथोकीले प्रहरीमा जाहेरी दिएलगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि मृतकका परिवारले कार्कीको शव बुझ्न अस्वीकार गरेका छन् । दशैं विदामा घर आएको समयमा विवाद भएपछि कार्कीको १२ गते रहस्यमय मृत्यु भएको थियो ।
मृतक कार्कीकी श्रीमती चाहना र ससुरा पुण्यप्रसादबिरुद्ध किटानी जाहेरी परेको र जाहेरीको पेटवोलीमा कमल गाँउपालिका ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईको नाम समेत उल्लेख छ । वडाध्यक्षको नाम समेत जाहेरीको पेट वोलीमा उल्लेख भएसँगै प्रहरीले उनलाई समेत निगरानीमा राखेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रिजालले बताए ।
मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकीलगायतले दमकमा पत्रकार सम्मेलन गर्दै आफूमाथि भएको अन्यायका बिषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभूति हुन नसकेको गुनासो गरेका छन् ।
कार्की आइतवार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भएको बताइएको छ । दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएको बताइएको छ । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप छ ।
दशै बिदामा घर आएका कार्कीमाथि श्रीमती, वडाध्यक्ष भट्टराईसहितले कुटपिट गरेको भन्दै दशैं टिका अर्थात् ७ कात्तिकमा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए । सो निवेदनमाथि प्रहरीले कात्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमय मृत्यु भएको हो । मृतक कार्कीका एक जना नाबालिका छोरी भएको बताइएको छ ।
डिभिजन वन कार्यालय, फिदिम पाँचथरमा लेखापाल तहमा कार्यरत कार्की दशै मनाउन घर गएका थिए । उनी ससुराली नजिकै बस्दै आएको थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : ५३ बजे