पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार आयोजित पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।
सिंगापुरले दिएकोे १ सय ४६ रनको लक्ष्य १६।३ ओभरमा पूरा गर्दै प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको हो । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा ८४ रनको सानदार साझेदारी गरेपछि सिंगापुर माथि सहज जित दर्ता भएको हो ।
कुशलले ७४ रन बनाउने क्रममा ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे । आसिफले २६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३५ रन बनाई अविजित रहे । भुर्तेल आउट भएपछि ब्याटिङ गर्न आएका कुशल मल्लले पहिलो बलमै छक्का प्रहार गर्दै नेपालको विजय सुनिश्चित गरे ।
यसअघि टस जितेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । खेलको दोस्रो बलमै करण केसीले अरित्र दत्तलाई बोल्ड गरि नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अर्का ओपनर रन्जन रंगराजनले ३० बलको इनिङ्समा ९ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ४६ रन बनाए । मनप्रित सिंहले २६ बल खेली ३ चौका सहित २४ रन बनाए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आर्यभिर चौधरीले २६ बलमा ५ चौका सहित ३७ रन बनाए । अक्ष्य पुरी १ चौका र १ छक्का प्रहार गरी १३ रनमा अविजित रहे ।
नेपालबाट अविनाश बोहराले ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र गुल्शन झाले २–२ विकेट लिए । सन्दीपले ४ ओभरमा १८ र गुल्शनले २१ र करणले ३६ रन खर्चे ।


विश्वकप एसिया क्षेत्रको छनोटका लागि सहभागि आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, मलेसिया र ओमान छन् । यसैगरी समूह ‘बी’ मा हङकङ, यूएई, बहराइन र कुवेत छन । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलमा पुग्ने दुई टोली जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी २० विश्वकपमा छनोट हुनेछन् ।
तस्विरः एससीएसएस

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ३८ बजे