पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम नगर बाल संजाल गठनः अध्यक्षमा रानिटार माविका नितेश तामाङ

विधि प्रक्रिया अनुसार पालिका तह स्तरीय गठन भएको यो संजाल जिल्लाकै पहिलो हो ।


फिदिम । फिदिम नगरपालिका स्तरिय बाल संजालको अध्यक्षमा रानीटार माध्यमिक विधालयका कक्षा ०९ का छात्र नितेश तामाङ सर्वसम्वत चुनिएका छन ।
आईतबार सदरमुकाम फिदिममा सम्पन्न नगर स्तरीय बाल क्लबका प्रतिनिधिहरुको भेलाले तामाङको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन गरेको छ । नगरका २० वटा सामुदायिक माध्यमिक विद्यालयका ४० जना बालक्लबका प्रतिनिधिहरुको भेलाले २०७२ साल पछी पहिलो पटक नगर बाल संजाल गठन गरेको छ ।
संजालको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः निर्मला गुरुङ्ग (गढि मावि फिदिम ०४), पुष्पा राई (सुनिम्मा मावि फिदिम ०३), रोनी तुम्रोक (भगवती मावि फिदिम ०६), प्रिति रिजाल (खलङगाटार मावि फिदिम १०) चुनिएका छन ।
सदस्यहरुमा रिसम राई (फिदिम मावि फिदिम ०१), जिया लावती (कालिका मावि फिदिम ०२), लोजिना तुम्बापो (सरस्वती मावि फिदिम ०५), रिसिका गुरुङ्ग (फिदिम ०८), अर्पण सम्बाहाम्फे (लुम्फाबुङ्ग मावि फिदिम ०९), रुपेश अधिकारी {बाबुङ्गा मावि फिदिम ११), मिना विश्वकर्मा (नागिन मावि फिदिम १२), प्रियङ्का राई (फिदिम १३), अरुणा राई (गुप्तेश्वर मावि फिदिम १४), रेजिना भन्डारी (सुखबोध मावि फिदिम ०४) चुनिएका छन ।
भेलाका प्रमुख अतिथी, नगर प्रमुख मित्रप्रसाद काफ्लेले बालबालिकाको अधिकार र विद्यालयको शैक्षिक गुणस्तरको लागि नगरपालिका लागिरहेको बताएका छन । उनले भने, ‘नगरका विद्यालय सुधारका लागि पूर्वाधार निर्माण देखि शिक्षकहरुको क्षमता विकासका कार्यक्रम नगरले गरिरहेको छ ।’


अतिथि, उपप्रमुख राधाकृष्ण न्यौपानेले विद्यालयको शिक्षण सिकाई प्रक्रियाको सुधारका लागि फिदिम नगरपालिकाले रातो बङ्गला स्कूल संग सहकार्यको योजना शुरु गरेको बताए ।

‘शिक्षण सुधारका लागि केहि समय लाग्ने हुन्छ, तत्काल परिणाम देखिदैन, हामी लागि रहेका छौ, उनले भने ।’ भाई बहीनिहरुले समेत आफ्नो विद्यालयको सुधारका लागि खवरदारी गर्नु पर्ने सुझाए ।


बाल अधिकारको क्षेत्रमा क्रियाशिल अन्तराष्ट्रिय संस्था ‘किन्नरमिसनरेक, ओजर्मनी र फिदिम नगरपालिकाको सहयोगमा तथा मानव अधिकार मन्च, ईलामको साझेदारीमा मानव अधिकार चेतना र विकास केन्द्र, (हुकोडेक) नेपालले संचालन गरेको ‘बाल अधिकार संरक्षणका लागि एक्यवद्धता परियोजना’ अन्तरगत संचलित क्रियाकलापमा संजाल निर्माणका लागि सहजीकरण गरिएको हुकोडेक नेपालका अध्यक्ष सुर्य अधिकारीले जानकारी दिएका छन ।
उनका अनुसार, ‘बालबालिका सम्बन्धि ऐन, २०७५ र बालबालिका सम्बन्धि नियमावली, २०७८ अनुसार हरेक स्थानिय तहले बाल अधिकारको सुनिस्तिताको लागि नगर / गाँउपालिका स्तरीय बाल संजाल गठन गर्नु पर्ने ब्यवस्था अनिवार्य रहेको छ । बालअधिकारको सुनिस्चितताको लागि हरेक विद्यालयमा बालक्लब र वडा स्तरीय बाल संजाल समेत गठन हुने प्रावधान छ ।’
बाल संरक्षणका लागि स्थानीय तहमा ऐनको प्रावधान अनुसार नगर / गाँउपालिकामा उपप्रमुख / उपाध्यक्षको नेतृत्वमा बाल अधिकार समिति र वडा तहमा वडाध्यक्षको नेतृत्वमा वडा बाल अधिकार समिति निर्माण हुने प्रावधान छ । स्थानीय तहले बाल कल्याण अधिकारी नियुक्ति गरि समग्र बालबालिकको हक र अधिकारको लागि नीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने ब्यवस्था रहेको छ । यिनै संयन्त्र मार्फत बालबालिकामा लागानी सुनिस्चित गरिने ब्यवस्था हो ।
ऐनले दिएको अधिकार अनुसार स्थानीय सरकारले बालअधिकारका संरक्षणका लागि संयन्त्र एवं प्रणाली निर्माण गर्नु पर्ने ब्यवस्था छ । आवश्यक नीति कार्यक्रम तर्जुमा गर्नु पर्नेछ । बालबालिकाको स्थिति पत्र नियमित प्रकाशन गर्नु पर्ने कानूनी ब्यवस्था रहेको छ । स्थानीय तहका हरेक वडालाई बालमैत्री निर्माण गर्न क्रियाकलाप एवं कार्यक्रम संचालन गर्ने दायित्व मुख्य रुपमा रहेको छ ।
बाल अधिकार संरक्षण कार्यविधि तयार गरि लागु गर्नु पर्ने दायित्व स्थानीय सरकारको रहेको पाँचथरका अग्रज अधिकारकर्मी प्रेम ओझाले बताए । उनि भन्छन्, ‘ संविधानको धारा ३९ मा मौलिक हकको रुपमा बालबालिकाको हकलाई सुनिस्चित गरिएको छ । बालबालिकाको हक कार्यान्वयनका लागी बालबालिका सम्बन्धि ऐन, २०७५ जारी भई लागु गरिएको छ । स्थानीय तह संचालन ऐन, २०७४ अनुसार समेत स्थानीय सरकारले थुप्रै जिम्मेवारी पुरा गर्नु पर्ने हो तर स्थानीय सरकार बालबालिकाको लागि जिम्मेवार देखिएको छैन, कानून अनुसार निर्माण र गठन गर्नुपर्ने प्रणाली र संयन्त्र तयार गरिएका छैनन् । बालबालिका लागि बजेट अत्यन्तै न्यून छ ।’
हुकोडेक, नेपालको आयोजनामा नगरका २० माध्यमिक विद्यालयका बालक्लबका ४० जना बालबालिकालाई क्षमता विकास तालिम सम्पन्न गरिएको छ । असोज २५ देखि २७ सम्म सदरमुकाम फिदिममा ३ दिने आवाशिय तालिम दिईएको हो । तालिमलाई राष्ट्रिय बालअधिकार परिषदका सुचिकृत श्रोत ब्यक्ति, युधिष्ठिरराज आमगाईले सहजिकरण गरेका थिए ।
गत असोज १९ गते नगरका २० माध्यमिक विद्यालयका ४० जना प्रधानाध्यापक र बालक्लब संरक्षक शिक्षकहरुलाई बालअधिकारका लागि आवश्यक संयन्त्र र प्रणालीका बारेमा अभिमुखिकरण समेत गरिएको संस्थाका अध्यक्ष सुर्य अधिकारीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : ४२ बजे