पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको याङवरक गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेको घटना सामसुम गर्न गाँउपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
गाँउपालिकाका अध्यक्ष भिमबहादुर योङ्या र उपाध्यक्ष बाबा मेयाङबो द्वारा जारी विज्ञप्तिमा ‘गम्भिर कुटपिट नभएको र दुई पक्षबीच सहमति भइसकेकाले टिका टिप्पणी गरी सिङ्गो गाँउपालिकाको अस्तित्व, स्वभिमान, कार्यसम्पादन, कर्मचारी प्रशासन लगायतका बिषयमा प्रश्न खडा नगरिदिन अनुरोध छ,’ बिज्ञप्तिमा भनिएको छ ‘घटनालाई अतिरञ्जित गरी कर्मचारी र गाँउपालिकाको मानमर्दनमा आँच आउने गरी सञ्चार माध्यममा भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध छ ।’
कुटपिट गर्ने अधिकृत र उपाध्यक्ष मेयोङबोले पिडितलाई सोमबार फिदिमबाट गाँउपालिका लगिएको बुझिएको छ ।


मोबाइलमा आएको ‘म्यासेज’ लाई लिएर अधिकृतले कुटपिट गरेका थिए ।
आईतवार विहान मोबाइलमा आएको ‘म्यासेज’लाई लिएर अधिकृत लिङ्देनले कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट सुवेदीको दायाँतर्फको आँखामा चोट लागेको छ । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भएको छ ।
पीडित सुवेदीले शक्तिपोष्टलाई भने, ‘मेरो नाममा भएको सिमबाट म्यासेज आयो भन्नुभयो तर कुन सिमबाट आयो ? कस्तो म्यासेज आयो भन्ने केही थाहा छैन । आइतबार बिहान कार्यालयको आवासमा बोलाएर हातपात गर्नुभयो ।’
कार्यालय सहयोगी सुवेदीको मोबाइल नम्बरबाट अधिकृत लिङ्देनको मोबाइलमा पठाएको भनिएको म्यासेजमा के छ रु तथ्य बाहिरिएको छैन । तर, सोही म्यासेजलाई लिएर लिङ्देनले सुवेदीमाथि कुटपिट गरेका हुन् ।
स्रोतका अनुसार अधिकृत लिङ्देन र गाउँपालिकाकै एक जना महिला कर्मचारीबीच लामो समयदेखि प्रेम सम्बन्ध छ । उनीहरूको प्रेम सम्बन्ध यसअघि नै छताछुल्ल भएको थियो । गाउँपालिकाका धेरै कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासी उनीहरूको सम्बन्धबारे जानकार छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : २० बजे