पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । फालेलुङ गाँउपालिका ८ स्थित आकाशेमा बुधबार सम्पन्न फुटवल प्रतियोगिता अन्तर्गत पुरुष फुटवल प्रतियोगिताको उपाधि थाम्सुहाङ सेवा समाजले चुमेको छ ।
स्थानीय अरमफुङ टोल विकास समितीको आयोजनामा सम्पन्न फाइनल खेलमा चोम्जोलुङ सेवा समाजलाई ६–२ गोल अन्तरले पराजित गर्दै थाम्सुहाङ सेवा समाजले उपाधि चुमेको हो । उपाधि विजेता टिमले पहिलो हाफमा ४ र दोस्रो हाफमा थप २ गोल गरेको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद रु ६५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता टिमले नगद रु ४० हजार रुपैँया ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।
यसैगरी, प्रतियोगिताको महिला तर्फको उपाधि साहारा मञ्च फालेलुङ गाउँपालिका २ ले कब्जा गरेको छ । स्थानीय ज्ञानज्योति आधारभुत विद्यालयको खेलमैदानमा वुधबार नै सम्पन्न फाइनल खेलमा नवआशिष मञ्च फिदिम नगरपालिका १३ जेभालेलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै फालेलुङ गाउँपालिका २ ले उपाधि कब्जा गरेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा ट्राइबेकरबाट लिइएको हो । विजेताले नगद रु २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता जेभालेले नगद रु १० हजार रुपैँया ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।


प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि फालेलुङ गाउँपालिकाका अध्यक्ष विरबिक्रम थाम्सुहाङ, उपाध्यक्ष महेन्द्र जवेगु लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । परापूर्व कालदेखि लाग्दै आएको भदौरे मेला अवसरमा आयोजित प्रतियोगिता साउन ३० गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा पुरुषतर्फ ३८ टिम र महिलातर्फ ५ टिम सहभागी भएको आयोजक संस्था अरमफुङ टोल विकास समितिका अध्यक्ष यामबहादुर कुरुम्बाङले बताउनु भयो ।

तस्विर सौजन्य– उपेन्द्र एत्तेन

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ४४ बजे