पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

उभौली घुम्ती शिविरमा भेडीगोठ (फोटो फिचर)

नेपालको पूर्वि पाँचथर, इलाम, ताप्लेजुङ जिल्लाहरुमा भेडा पालन हुने गरेको पाइन्छ ।


नारायण तुम्बापो

पाँचथर । हिजोआज नेपालका विभिन्न उच्च हिमाली क्षेत्रका सेरोफेरोमा भेडाका बथान रमाउदै चरिरहेको भेट्न सकिन्छ । गोठालाले उभौली घुम्ती शिविरका रुपमा भेडीगोठ लेकतिर लगेसंगै अहिले माथिल्लो भेगमा भेडाका बथान भेटिने गरेका हुन् । गर्मीयाममा उभौली र जाडोमा उधौलीको खर्कमा भेडा चराइने किसान सुनाउछन् । घाँसपानीको पर्याप्त उपलब्धताको खोजी गर्दै गोठालाले घुम्ती शिविर सञ्चालन गर्ने चलन पुरानै हो । यो तरिकाले टाढाटाढासम्म भेडा चराउन लगिन्छ । यसरी हिडाइने भेडीगोठ घुम्ती शिविरमा सयदेखि ३ सय सम्मको संख्यामा भेडा सम्मिलित हुन्छन् । घुम्ती शिविरले चरनमा आधारित धेरै संख्याको व्यवसायिक भेडा पालन पेसा प्रवद्र्धन गर्नमा ठूलो सघाउ पुर्याउने किसान सुनाउछन् ।

उभौलीको सेरोफेरोमा भेडाका बथान चर्न पुग्दा हिमाली माहोल नै बेग्लै बन्ने गर्छ । घुम्ती शिविरका रुपमा भेडाहरु जुन ठाउँमा पुर्याइन्छ त्यस ठाउँमा गोठको प्रवन्ध गरेर भेडाहरु राख्ने गरिन्छ । ठाउँठाउँमा तम्बु टागेर आफूहरुको लागि बसोबासको व्यावस्था गरेर गोठालाले भेडाहरुको रखबारी गर्छन् । यो परिदृष्यले त्यसैपनि सुन्दर हिमालको आकर्षणमा अर्को आकर्षण थपिदिन्छ । यसबाट पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ । भेडीगोठका लागि घुम्ती शिविरमा लाग्नु पर्दा धेरै कष्ट सामना गर्नु पर्ने ग्वाला सुनाउछन् । उनीहरुले आफ्नो लागि सातु, चामल, नुन, तेल, तरकारी साथसाथमै बोकेर हिड्नु पर्छ । परिवार, गाउँ समाजसंग भौतिक दूरी र सूचना सम्बादका हिसावले महिनौ सम्पर्क विच्छेद भएर रहनुपर्छ ।


हिमाली क्षेत्रका धेरै किसानले मुख्य आम्दानीको स्रोतको रुपमा भेडा पाल्ने गरेका छन् । नेपालको पूर्वि पाँचथर, इलाम, ताप्लेजुङदेखि पश्चिम क्षेत्र लम्जुङ, रुकुम, जुम्ला, नुवाकोट, कास्की लगायतका हिमाली जिल्लामा भेडा पालन हुने गरेको पाइन्छ । विशेषगरि नेपालमा स्थानीय जातका भ्याङलुङ, कागे, बरुवाल र लामपुछ्रे जातको भेडा प्रमुख रुपमा पाल्ने गरिएको अध्ययनमा देखिन्छ ।

भेडाको ऊन, मासु, दुधबाट आम्दानी लिइन्छ । यसलाई भारी बोक्ने साधनको रुपमा पनि प्रयोग गरिन्छ । भेडाको रौं अर्थात ऊनबाट कम्बल, राडी, स्विटर, गलैचा, पस्मिना कपडा लगायत निर्माण गरिन्छ । भेडा पालन पेसाले हिमाली क्षेत्रको ग्रामिण अर्थतन्त्र मजबुत बनाउने आधार प्रदान गर्नुका साथै यसले प्रत्यक्ष अप्रत्यक्ष पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षण गर्न सघाउने विज्ञ भनाइ छ ।


सामुहिक बस्न रुचाउने भेडा उच्च हिमाली क्षेत्रमा पालिने चौपाया हो । दुईदेखि २५ डिग्री सेल्सीयस तापक्रम भएको हावापानीमा भेडापालन उपयुक्त हुने विज्ञको राय छ । यहि तापक्रमसंग मेल खाने हिमाल र पहाडी भू–भाग पर्याप्त रहेकाले नेपालमा भेडा पालनको संम्भाव्यता राम्रो रहेको देखिन्छ । सम्भाव्यताले राम्रो देखाए पनि यस पेसाबाट किसान भने विमुख हुने क्रम बढिरहेको अवस्था छ ।

पाँचथरको हकमा विगतमा दर्जनौ भेडीगोठ रहेकामा बर्तमानमा एउटा मात्र रहेको अवस्था छ । भेडाचर्ने धेरै खर्क सामुदायिक वन बनाइए । कतिपयमा किसानले खेतीबाली लगाए । यसले भेडा चरन क्षेत्रको दायरा घटायो । पछिल्लो समय भेडापालनमा युवा पुस्ताको आकर्षण छैन । यस्ता कारणले भेडा पालन व्यवसाय घट्न थालेको पाँचथर फालेलुङ गाउँपालिका–४, मेमेङका किसान टेकबहादुर गुरुङले सुनाए । उनले खर्क होइन खोर केन्द्रित भेडा पालन पेसा खुम्चीएको सुनाए । विगतमा फालेलुङ क्षेत्रमा घुम्ती शिविरमा आधारित आधा दर्जन भेडीगोठ सञ्चालन हुने गरेकोमा अहिले एउटा पनि नरहेको किसान सुनाउछन् ।

फोटोः पाँचथरको याङ्वरक गाउँपालिका–२, तिम्बुपोखरी क्षेत्रमा घुम्ती शिविर भेडीगोठमा चरिरहेका भेडा । तस्विरहरु नारायण तुम्बापो

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : ३८ बजे