पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम ।
हामी सवैलाई थाहा छ पानीको सुन्दर फोहोराको एउटा रुप हो झरना । पानी छोटो–लामो छाँगा वा छहराको डिलबाट अबिरल ओर्लिने क्रममा झरनाको स्वरुप सिर्जना हुन्छ । यहि बेला झरनाले छुट्टै रोमाञ्चक साङ्गीतिक लय नै हाल्छ । अर्थात पानीको बाद्यवादन, गायन र नृत्यको संयुक्त प्रस्तुति पोखिन्छ । यस बखत झरनाको आकृति हेरेर र आवाज सुनेर धेरै रोमाञ्चित हुन सकिन्छ । जसले मानविय तनाव हरण गराएर आनन्द बरण गराइदिन्छ । अनि नै त हामी जो कोहि झरना भनेपछि हुरुक्कै हुन खोज्छौ । झरनासंग आमने सामने भएर झुम्न, रम्न, भिज्न फुरुक्कै हुन्छौ ।


यस्ता झरना हिमाल, पहाडको देश नेपालमा झरझरको आवजमा आउ मलाई हेर्न भन्दै पर्यटक बोलाउदै ओझेलिएर बसेका धेरै छन् । खुसीकै कुरो पछिल्लो समय मुख्यगरि सूचना प्रविधिको विकाससंगै कतिपय झरनाले प्रचार पाउन थालेका छन् । विषेशगरि फेसबुक, युट्वुव, टिकटक, ट्विटर जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले झरनासंग जोडिएर उत्पादन गरेका सामग्री प्रकाशन प्रशारण गर्ने गरेका छन् । फलस्वरुप प्रचार पाएका झरनामा पर्यटकको आवागमन बढन थाल्दा आम्दानीसंग जोडेर यसको प्रवद्र्धन गर्न स्थानीय हौसिएका छन् ।

सरकारसंग आर्थिक सहयोग लिएर झरना क्षेत्रमा यातायातको पहुँछ पुर्याउनुका साथै पर्यटकमैत्री विभिन्न संरचना निर्माण गर्न स्थानीयवासी अग्रसर हुन थालेका छन् । पर्यटनसंग आधारित भएर प्रवद्र्धन गरिएका झरनाहरुमा पर्यटकको आकर्षण पनि बढ्न थालेको छ । यसका उदाहरण पूर्वि धनकुटाको नमस्ते, तेह्रथुमको ह्यात्रुङ, ताप्लेजुङको फुङफुङ्गे, पाँचथरको मिलुङ, मुवा झरना रहेका छन् । यी झरनाहरुमा हिजोआज पर्यटकको घुइचो लाग्ने गरेको छ ।

विशेष गरेरे पानीको बहाव बढ्ने समय वर्खा याममा झरनालाई आकृति र आवाजका हिसावले धेरै आकर्षक अवतारमा हेर्न, सुन्न पाइन्छ । गर्मी याममा सितलता पनि प्रदान गर्छ । त्यसैले पनि हिजो आज पूर्वि क्षेत्रको झरनाहरुमा पर्यटकको घुइचो लाग्ने गरेको पाइन्छ । यसबाट स्थानीयवासीको आर्थिक सशक्तिकरणको स्रोत सिर्जन हुने गरि विभिन्न पेशा व्यवसाय प्रबद्र्धन हुनमा सघाउ हुन थालेको छ ।


स्थीर वा जमेको भन्दा तिब्र गतिको चलायमान पानी प्राणी तथा वनस्पति जगतका लागि धेरै उपयोगी हुने अध्ययनमा देखिन्छ । झरनाले फोहोर पानी शुद्धिकरण गर्न सघाउने वैज्ञानिक धारणा रहेको बताइन्छ । त्यसैगरि फोहोरलाई पोषक तत्वमा परिणत गर्नुका साथै पानीमा अक्सिनको मात्रा पनि बढाई दिने भनाइ छ । यी तथ्यहरुबाट पर्यावरणयीय हिसाबमा पनि झरनाको महत्व धेरैको रहेको स्पष्ट हुन्छ । त्यसैले हाम्रो वरिपरिका क्षेत्रमा रहेका विभिन्न नामका झरना निरन्तर बगीरहने वातावरण निर्माण गर्नमा जोड दिन जरुरी छ । पानी विना झरनाको अस्तित्व रहन्न । झरनाको स्रोत भन्नु नै हिमपात र पानीको मुहान हुन् । जलवायु परिवर्तनका कारण कम हिमपात र वर्षाद हुने क्रम बढ्दा नेपालका धेरै झरना नाम मात्रका झरनामा परिणत भइरहेको अवस्था छ । यीनको पारिस्थितिकीय प्रणालीमा रुकावट आउन नदिन जलवायु परिवर्तन रोक्नमा सवैले जोड दिन आवश्यक रहेको देखिन्छ ।

फोटोः ताप्लेजुङको पश्चिमोत्तर क्षेत्रमा अवस्थित आकर्षक झरना । तस्विरहरुः नारायण तुम्बापो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ५३ बजे