पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

तमोर तरेर तोक्पेगोलाःप्राकृतिक सुन्दरताको राज (फोटो फिचर)

तिब्बतसंगको सिमावर्ती क्षेत्र तोक्पेगोला धेरै मोहक छ


नारायण तुम्बापो

पाँचथर/ ताप्लेजुङको पश्चिमोत्तर मिक्वाखोला गाउँपालिका–५, को उपल्लो छेउमा छ एउटा सानो सुन्दर गाउँ– तोक्पेगोला । छुट्टै प्राकृतिक सुन्दरताको राज देख्न यहाँ पुग्नुपर्छ । यो ठाउँमा पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि देउलिङ्गे ओरालो झरेर तमोर तर्नु पर्छ । तिब्बतसंगको सिमावर्ती क्षेत्र तोक्पेगोला धेरै मोहक छ । यहाँ पुगेर फर्किन लाग्दा आँखा यतै वास वस्न खोज्छन् । मन अल्झिन्छ । लाग्छ तोक्पेगोलाको सुन्दर बनावट सिर्जना गर्नमा प्रकृतिको अलिकति पनि कन्जुस्याइ छदै छैन ।

भुतपोखरी, सोदुपोखरी, झरना, झुरुप्प बस्ती, चौरी–भेडी बथान, फूलैफूल यहाँका मुख्य आकर्षण हुन् । ३ हजार ७ सय मिटर उचाईमा रहेको तोक्पेगोलामा तीन घर लिम्बू सहित १९ घर शेर्पा जातिको छ । यो हिमाली गाउँको छ महिना खुला छ महिना बन्द हुने अर्को छुट्टै विशेषता छ । रैथाने गरम मौसम जेठ कात्तिक विचमा तोक्पेगोला, ठन्डायाम मङ्सिरदेखि वैशाखसम्म औल बस्छन् । यो ठाउँमा हिमपात नहुने समय साउन भदौ महिना घुम्न आउन उपयुक्त मानिन्छ ।

यहाँ घुम्न आउने पाहुनालाई स्थानीय किशोरीले मौलिक पहिरनमा सजिएर फूल गुच्छाका साथ हार्दिक स्वागत गर्ने चलन छ । तोक्पेगोला गाउँ मेचीमार्ग पहुँचको ताप्लेजुङ सदरमुकाम फुङ्लीङदेखि २२ कोष टाढा छ । यो ठाउँमा फूङ्लिङ्देखि दोभान, खाम्लुङ, थुकिमा, नाल्बु, साँवा, पापुङ हुदै तीन दिनको पैदलमार्गबाट पुगिन्छ । पापुङको डुङ्ग्गीनसम्म गाडीबाट पुगेर उता एक दिन हिडेर पनि पुगिन्छ । यात्रा क्रममा साँवा स्थितको रोमान्चक सुन्दर फूङ्फुङ्गे झराना देख्न पाइन्छ ।

तोक्पेगोला नामाकरणको लिम्बू र शेर्पा समुदायको आ–आफ्नै किवन्दन्ती छ । लिम्बू भाषामा ‘तक्पे’को अर्थ ठाडो र ‘गोला’ भन्नाले नाका बुझिन्छ । ‘तक्पेगोला’ कालान्तरमा तोक्पेगोला भएको भनाइ छ । त्यस्तै शेर्पा भाषामा ‘ठोक्पे’ले लक्षिन र ‘गोला’ले हिमाली जनाउछ भन्ने छ । ‘ठोक्पेगोला’को अपभ्रम्स तोक्पेगालो हो भन्ने दावी छ ।

तोक्पेगोलादेखि दुई दिन हिडेपछि तिब्बत पुगिने स्थानीय भनाइ छ । यो ठाउँ ऐतिहासिक स्थल पनि हो । यहाँ विगतमा हिमपात नहुने समयमा भोटदेखि नुन ढाडमा बोकी ल्याएर भण्डारण गरिन्थ्यो । सो नुन पूर्वका पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा हुदै सुनसरी धरानसम्म ढाडबाटै आपूर्ति हुने गरेको अग्रजहरुको भनाइ छ ।

तोक्पेगोलाको पुरानो भन्सार कार्यालय द्वन्द्वकाल २०५७÷०५८ मा विस्थापित भएको पापुङवासी केसव लामाले सुनाउनुहुन्छ । तोक्पेगोलामा विषेश परिकारको रुपमा सुकुटीको साथमा काठे तोङ्बामा कोदोको जाँड खान पाइन्छ ।

यस क्षेत्रमा जडीबुटी केन्जो, माइकोपिला, विखुमा, सतुवा, पाखानवेद, पाँच औले, खोकिम लगायत पाइन्छ । त्यसैगरि हिमचितुवा, डाँफे, भालु, कस्तुरी, मृग, न्याउर, रेडपाण्डा पनि भेटिन्छन् । शेर्पा जातिको लोकप्रिय संस्कृति स्याव्रु नाच समेत तोक्पेगोलामा देखिन्छ । प्राकृतिक, ऐतिहासिक र साँस्कृतिक हिसावले आकर्षक र महत्वपूर्ण तोक्पेगोला पर्यटन प्रबद्र्धन अभावले गुमनाममा छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : २० बजे