पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

प्रथम खड्ग कुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि आठराईलाई

विजेता कन्दङ्वा र उप्रेतिको जोडिले योङहाङ र श्रेष्ठको जोडिलाई २१–१६ र २४–२२ को सोझो सेटमा पराजित गर्दै नगद १५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाण–पत्र हात पारे ।


मंगल बेघा

पाँचथर । प्रथम खड्ग कुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोजिता २०८० को उपाधि तेह्रथुम आठराईका खेलाडीले चुमेका छन् । आठराईका दिनेश कन्दङ्वा र देवेन्द्र उप्रेतिको जोडिले आईतबार सम्पन्न फाईनलमा फिदिमका प्रविनहाङ योङहाङ र उमेश श्रेष्ठको जोडिलाइ पराजित गर्दै उपाधि हात पारेका हुन ।
ब्याडमिन्टन संघ पाँचथरद्धारा आयोजित प्रतियोगितामा विजेता कन्दङ्वा र उप्रेतिको जोडिले योङहाङ र श्रेष्ठको जोडिलाई २१–१६ र २४–२२ को सोझो सेटमा पराजित गर्दै नगद १५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाण–पत्र हात पारे । उपविजेता योङहाङ र श्रेष्ठको जोडिले नगद १० हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाए ।
विजेता र उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र प्रतियोगिताका मूख्य प्रायोजक मन कुमारी नेम्बाङले पुरस्कार वितरण गर्नु भएको थियो । प्रमुख अतिथि रहनु भएका नगर प्रमुख काफ्लेले समापन समारोहलाई संबोधन गर्दै खेलकुदका माध्यमवाट देश विकास र नागरिकको स्वास्थ्यमा उल्लेखनीय योगदान पुर्याउन सकिने बताउनु भयो । साथै, ब्याडमिन्टन खेलको विकासमा स्थानीय सरकारको तर्फवाट सहयोग गरिने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।


प्रतियोगिता सम्पन्न गर्न फिदिम नगरपालिका १ निवासी नेम्बाङले आफ्ना दिवंगत पति खड्ग कुमार नेम्बाङको स्मृतिमा मूख्य प्रायोजन गर्नु भएको थियो । यसैगरी, जिल्ला स्थित विभिन्न संघ, संस्था एवं व्यक्तिहरुले समेत सहयोग गरेका थिए ।
समापन समारोहमा प्रतियोगिताको मूख्य प्रायोजक, सहयोगी दाताहरुलाई मायाको चिनो समेत हस्तान्तरण गरिएको थियो । ब्याडमिन्टन संघका अध्यक्ष रामबीर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव तेजबहादुर तुम्बापोले सञ्चालन गर्नु भएको थियो । तीन दिनसम्म चलेको प्रतियोगितामा ४२ टिमको सहागिता रहेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ०३ बजे