पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । असार ३ गतेको बाढीले मोटरएबल पुल बगाएको स्थान पाँचथरको फालेलुङ गाउँपालिका स्थित हेवाखोलाको घुमाउनेटारमा डाइभर्सन बनाइएको छ । तत्कालको यातायात गतिरोध हटाउन गाउँपालिकाको अगुवाईमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीद्वारा डाइभर्सन बनाइएको हो ।
डाइभर्सन निर्माणमा फालेलुङका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको नौ लाख ५७ हजार ५ सय ३ रुपियाँ नगद र जिन्सी सहयोग रहेको छ । थप गाउँपालिकाको नगदसहित ४ सय ४३ जनाको जनश्रमदान समेत गरि जम्मा २३ लाख रुपियाँको लागतमा डाइभर्सन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

असार २० गतेदेखि निर्माण थालिएको डाइभर्सन लगातार तीन दिन खटेर सम्पन्न गरिएको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए । निर्माण सम्पन्न डाइभर्सन असार २९ गते सञ्चालनमा ल्याउन लागिएको गापा अध्यक्ष विरबिक्रम थाम्सुहाङ हस्ताक्षरित सूचना जारी भएको छ । सूचनामा डाइभर्सन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवै प्रति धन्यवाद पनि व्यक्त गरिएको छ ।
पाँच वटा होमपाइप राखेर बनाइएको डाइभर्सनमा २९ गते पानी पठाएर सञ्चालन गर्न लागिएको हो । फिदिम–फालोट सडक हुदै सदरमुकाम फिदिमसंग सिधा सम्पर्कमा जोडिने सिदिन–थोक्पन–मच्छेबुङ मार्ग अन्तर्गतको घुमाउनेटारमा डाइभर्सन बनाइको हो । फालेलुङ क्षेत्रका लागि मुख्य मार्ग रहेको सिदिन–थोक्पन–मच्छेबुङ सडक ३ गते यतादेखि अवरुद्ध हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ । अस्थाई रुपमै भएपनि डाइभर्सन निर्माणले यातायात सूचारु हुन लाग्दा आफूहरुले धेरै राहत पाउने विश्वासले स्थानीयवासी खुसी बनेका छन् । बाढीले नै मोटरएवल पुल भत्काएपछि अवरुद्ध रहेका फालेलुङवासीको प्रत्यक्ष जनजीविकासंग जोडिएका दुई महत्वपूर्ण मार्ग पनि खुलाउने प्रयास भइरहेको अधिकृत आङ्देम्बेले सुनाउनुभयो । यसका लागि पनि सहयोग पुर्याउन उनले सवैसंग आग्रह गरेका छन ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ३५ बजे