पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा
पाँचथर । नेपालले घरेलु टोली मलेसियालाई पराजित गर्दै एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि कब्जा गरेको छ । मंगलबार फाइनलमा मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले यो उपाधि कब्जा गरेको हो ।
मलेसियाको बायुमास ओभल मैदानमा २ सय ५३ रनको विशाल लक्ष्य लिएर आएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो । नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन मात्र खर्चेर ६ विकेट लिए । उनले १ मेडन राखेका थिए । २ मेडन राखेका सन्तोष यादवले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए भने सागर गैरे र अशोक धामीले १ विकेट लिए । नेपाली बलर सामु निरिह भएको मलेसियाबाट मोहम्मद अक्रमले बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको थियो । नेपालका नरेन भट्टले ८९ बल खेल्दै १ सय १२ रनको शतकीय इनिङ खेलेका थिए । उनले १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटका लागि १ सय ४ रनको यो साझेदारी गरेका थिए । २९ बलमा २ चौका प्रहार गरेका सन्तोष २६ रनमा आउट भए । निरज यादव र सूर्यांशु कोइरालाले आठौं ओभरमा ४१ रन जोड्दै राम्रो सुरुआत दिलाएका थिए । सूर्यांशु २ चौका प्रहार गरि २३ बलमा १८ रन बनाई आउट भए । नरेनसँग दोस्रो विकेटमा ५५ रन जोडेका निरज अर्धशतक बनाउन चुके । निरजले ४९ बल खेली ६ चौका सहित ४७ रन बनाए । दीप भुजेल ५, प्रतीक भट्टराई १, अविषेक तिवारी ४, अशोक धामी ७, आशिष लोहारले २ रन बनाए ।
प्रतियोगितामा नेपालले समूह चरणमा मलेसिया सहित थाइल्यान्डलाई र सेमिफाइनलमा सिंगापुरलाई पराजित गरेको थियो ।
यस अघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता नेपालले जितेको थियो । त्यस अनुसार यस पटक पाएको सफलताले नेपालले एसियाली क्रिकेट परिषद् (एसीसी) को यू–१६ क्रिकेटमा ह्याट्रिक गरेको हो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : ४३ बजे