पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

किन आयो हेवाखोलामा अकल्पनीय भीषण बाढी

३ गतेको बाढीले हेवाखोला अन्तर्गतका एउटा बेलिब्रिजसहित पाँच वटा पक्की पुल बगाएको छ


नारायण तुम्बापो

फिदिम । असार ३ गते पाँचथरको हेवाखोलामा वर्षासंगै आएको अकल्पनीय बाढीले स्थानीयवासीलाई उदेकमा पारेको छ । हेवाखोलाको अन्तिम विन्दु माझीटारका ४० वर्षीय मंंगलबहादुर माझी यस्तो बाढी आउला भनेर दश मनमा एक मन पनि नसोचेको बताउनु हुन्छ । हिउदमा जँघार तरिने हेवाखोला तीन गते तमोर नदी बनेर आएको भान भएको उहाँले सुनाउनुभयो ।
लामो समयदेखि मेचीमार्गको हेवाखोला पुल बजार नजिक बस्नुहुने भानुभक्त पोख्रेलले यसपालीको बाढी उग्र आतङ्कारी नै बनेर आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ’दुई बजे राती ठूलो गडगडाहटका साथ बाढी आउदा मस्त निदाएका बजारवासी हामी आतङ्कित हुदै व्युँझेका थियौ । अतालिदै बाहिर निस्केर भागदौड गर्दै गर्दा एकैछिनमा मोटरएबल पुलमाथीसम्म पानी भरिएर आयो । केहि समयपछि पुल भत्कियो । त्यसपछि झन् ठूलो आवाजमा गडगडाउदै पश्चिमतर्फको आफ्नो बाटो पछ्याएर हेवा ओरालियो ।’ यहाँको पुल भत्किएपछि अहिले १५ दिनदेखि मेचीमार्ग अवरुद्ध जस्तै छ । बेला–बेला डाइभर्सन मार्फत यातायात स्ुचारु भएपनि ठूलो बाढी आएको बखत बाटो छेकिने गरेको छ । यातायातमार्फतको आवागमन र ढुवानी रोकिदा पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङ्वासी हजारौंको जनजीवन कष्टकर बनेको छ । मेचीमार्ग जोड्ने हेवाखोला पुल क्षेत्रका वासिन्दा भने ठूलो बाढी आएको बेला पुल भत्किएर ठिकै भएको बताउछन् । स्थानीयको भनाइ अनुसार नभत्किएको भए यहाँको वस्ती डुवानमा पर्दा दर्जन घरमा क्षती हुनेथियो । अझै ठूलो क्षतिको रुपमा १५ जनासम्मको ज्यान जान सक्थ्यो ।


३ गतेको बाढीले हेवाखोला अन्तर्गतका एउटा बेलिब्रिजसहित पाँच वटा पक्की पुल बगाएको छ । धेरै झोलुङ्गे पुल पनि बगेका छन् । यो अवस्थाले पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङ जाने सवैतिरको बाटो छेकिएपछि यातायातमा नाकाबन्दी नै लागेको छ । अरवौं खर्चेर बनाइएका हेवाखोलाकै स्रोतले चल्ने १४ र २१ मेगावाट क्षमताका दुई वटा हाइड्रो पावरमा पूर्ण रुपमा क्षति पुगेको छ । हेवाखोला बाढीमा परेर दुई जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता छन् ।
यतिधेरै जन धनको क्षति हुने गरि हेवाखोलामा किन र कसरी त्यत्रो बाढी आयो भन्नेमा स्थानीयवासी अचम्मित छन् । फेरिपनि यसरी जुनैपनि बेला झुक्याएर हेवा हेलिएर आउन सक्ने चिन्ताले उत्तिकै पिरोलिएका पनि छन् ।

विगतमा यसपाली ठूलो बाढी आएको समय भन्दा पनि ठूलो वर्षा हुदा पनि हेवामा ३ गतेको जस्तो बाढी नआएको हेवाको तल्लो तटिय क्षेत्रकाले सुनाउछन् । हुन पनि हेवाखोलाको तल्लो तटिय क्षेत्रमा ठूलो बाढी आएको समयमा कम वर्षा भएको देखिन्छ । जुन समयमा ४६.२ मिली मिटर मात्रै पानी परेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय धनकुटाले जनाएको छ ।

हेवाको उद्गम स्थल सेरोफेरो फालेलुङ गाउँपालिका क्षेत्रमा भने अत्याधिक भारी वर्षा भएको थियो । सो क्षेत्रमा २३० मिली मिटर वर्षा भएको फिल्ड कार्यालयका मौसम विज्ञान विज्ञ रामबाबु मिश्रले बताउनुभयो । खासमा ठूलो बाढीको मुहान नै यहि बनेको थियो । मिश्रले भन्नुभयो, ‘ठूलो बाढी आएको समय दुई गते रातीबाट ३ गते विहानसम्म फालेलुङ क्षेत्र सेरोफेरो अतिका साथै खण्डवृष्टि भएको देखिन्छ । २४ घण्टामा १४० मिलीमिटर भन्दा बढी वर्षा भए बाढी पहिरोको उच्च जोखिम सिर्जना हुन्छ । त्यही भयो ।’ फालेलुङ–४, का वडाध्यक्ष सन्त राईले यसअघि फालेलुङ क्षेत्रमा २०२५ सालमा ठूलो वर्षा भएको बताइए भन्दा पनि अझ ठूलो ३ गते पानी परेको सुनाउनुभयो ।


फालेलुङ क्षेत्रमा जेठ २७ गतेदेखि ३१ गते बाहेक असार १ गतेसम्म लगातार १८ देखि ४१ मिलीमिटरसम्म वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालयको तथ्याङ्क छ । जसका कारण सो क्षेत्रको जमिनले पानी सोसेर राख्ने क्षमता पनि सकिएको थियो । अन्ततः २ गते फालेलुङ क्षेत्रमा आएको भारी वर्षाको पानी त्यहाँको जमिनमा खपत नभई विभिन्न जलाधार हुदै सिधै हेवाखोलामा वग्ने अबस्था बन्दा त्यो भीषण बाढी बन्न गएको जलविज्ञ भनाइ छ । ठोस रहित तरलका रुपमा मात्रै निर्वाधले स्वतन्त्रले बग्न पाए बाढी जोखिमका हिसावले त्यति शक्तिशासी नहुने बरिष्ठ जल विज्ञान विज्ञ रुद्धबहादुर परियारले बताउनुभयो ।

हेवाखोलामा ३ गते आएको बाढी भारी ठोसका साथ थुनिदै खोलिदै बग्ने क्रममा त्यसैले भीमकाय रुप लिएको अध्ययनबाट देखिने उहाँको भनाइ छ । हुनपनि हेवाखोला बाढीले एउटा बेलीब्रिज सहित पाँच वटा पक्की पुल बगाएको छ । यहि पुलहरुका कारण बाढीको शक्ति सञ्चय हुनमा सघाउ पुग्ने गरि केहि समय थुनिदै खोलिने अवस्था सिर्जना भएको अध्ययनले देखाउछ । ठूलो बाढीको उद्गम स्थल फालेलुङ क्षेत्रमा दर्जनौ पहिरो गएका छन् । झोलुङ्गे पुल बगेका छन् । जसका कारण बगेर आएका ढुङ्गा, माटो, रुख, बुट्टा, तारजाली, फलामे पत्ता लगायतले पक्की पुल टालिदै भत्किदै बग्ने अवस्था आएको देखिन्छ ।

हेवाखोला क्षेत्र मिचेर ठाउँ ठाउँमा बनाइएका विभिन्न संरचनाका कारण जलप्रवाह मार्ग साघुरिएको क्षेत्रमा स्वतन्त्र बग्न नपाएको बाढीले थप जोखिम बढाएको बताइन्छ । पछिल्लो समयमा जलवायु परिवर्तन संगै लामो समय वर्षा नहुनु, हुदा पनि अतिवृष्टि, खण्डवृष्टि भई विनासकारी बाढी पहिरोको जोखिम बढ्नुमा मानविय कर्म बढी जिम्मेवार देखिने जल तथा मौसमविदको भनाइ छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : ०० बजे