पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम-ताप्लेजुङ खण्डको हेवा खोला पुल बगेपछि दैनिक १० टन आपूर्ति अबरुद्ध

असार २ र ३ गते परेको वर्षासंगै आएको बाढीले सो क्षेत्र छिर्ने मूल नाकाको पुल बगाएपछि ५ दिन यतादेखि यातायातको नाकाबन्दी लागेको हो ।


नारायण तुम्बापो

फिदिम । मेचीमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको मोटरएवल हेवाखोला पुल बगेसंगै पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङमा नाकावन्दी नै लागेको छ । असार २ र ३ गते परेको वर्षासंगै आएको बाढीले सो क्षेत्र छिर्ने मूल नाकाको पुल बगाएपछि ५ दिन यतादेखि यातायातको नाकाबन्दी लागेको हो ।
पुल विहीनताले पाँचथरको याङ्वरक, हिलिहाङ र फालेलुङ गाउँपालिकाको यातायात सम्पर्क टुटेको हो । ९ वटा स्थानीय तह रहेको ताप्लेजुङका ७ वटा स्थानीय तह पनि यातायात पहुँच देखि टाढिएका छन् । यहाँको दुई वटा मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा बाटो अबरुद्ध नरहेको अवस्था छ । यस क्षेत्रमा मध्य पहाडि लोकमार्ग अन्तर्गत तेह्रथुमको सक्रान्ति हुदै जाने सडकमा समस्या नरहेको जनाइएको छ । यातायात सम्पर्कबाट विच्छेद रहेका विकट ताप्लेजुङको ७ र पाँचथरको ३ वटा स्थानीय तहमा दैनिक १० टनसम्म हुने गरेको आपूर्ति अहिले अबरुद्ध छ । चामल, नुन, तेल, चिनी लगायतको दैनिक उपभोग्य सामग्री आपूर्ति नभइरहेको हो ।
ताप्लेजुङ उद्योग वाणिज्य संघ अध्यक्ष नारायण थापाका अनुसार ताप्लेजुङ फुङ्लिङ बजारमा मात्रै दैनिक ५ टन आपूर्ति गरिन्थ्यो । यति परिमाणको उपभोग्य सामग्री फूङ्लिङ् बजार सहित विभिन्न ग्रामिण क्षेत्रमा वितरण हुन्थ्यो । गाउँगाउँमा जाने उपभोग्य वस्तु बाढी पहिरोले सडक छेकेपछि ढुवानी नभएर अहिले फूङ्लिङ्मै मौजदात भएर रहेको छ । यसरी रहेको उपभोग्य सामग्री फूङ्लिङ्बासीका लागि जगेडा बनेपछि यहाँ तत्काल खाद्य संकट नरहेको अध्यक्ष थापाले सुनाउनुभयो । विकट ग्रामिण क्षेत्रमा भने खाद्य संकट सिर्जना भइसकेको उहाँको भनाइ छ । फुङ्लिङ्ग रहेको जगेडाले ९/१० दिनलाई मात्र धान्ने र तत्काललाई अति आवश्यक ग्याँसको भने अभाव सिर्जना भइहाल्ने अवस्था रहेको बताइएको छ । फूङ्लिङ्मा अहिले १ सय २० सिलिन्डर मात्र ग्यास जगेडा रहेको वाणिज्य संघले जनाएको छ । यता आपूर्ति हुन नसकिरहेको पाँचथरको उत्तरी क्षेत्रमा खाद्यान्न संकट निम्तिएको पाँचथर उद्योग वाणिज्य संघं अध्यक्ष नवराज नवराज घिमिरेले जानकारी दिए । उनका अनुसार उत्तरी फालेलुङका साथै हिलिहाङ, याङ्वरक गापा र यी २ गापासंग जोडीएका ताप्लेजुङका विभिन्न स्थानीय तहमा दैनिक ५ टन उपभोग्य सामग्री आपूर्ति हुन्थ्यो । यी क्षेत्रमा विभिन्न प्रकारका उपभोग्य बस्तु पाँचथरको सदरमुकाम फिदिम बजारबाट जान्थ्यो । यो रोकिदा फिदिम बजारमा अहिले व्यवसायिक मन्दि पनि छाएको अध्यक्ष घिमीरेले सुनाए । त्यसो त पाँचथरको उत्तरी क्षेत्रबाट उत्पादित दैनिक १० लाख मुल्य बराबरका तरकारी ढुवानी हुन नपाउदा कुहिएर खेर गइरहेको छ । चारो अभाव हुन थाल्दा फर्मका कुखुरा धमाधम मर्न थालेका किसानको दुखेसो छ । यस क्षेत्रकाले एम्बुलेन्स सञ्चालन हुन नपाउदा जटिल प्रकृतिका विरामीले चाडै उपचार सेवा पाउनबाट बञ्चित हुनु परिरहेको छ । बालबालिकालाई नियमित प्रदान गर्नु पर्ने खोप सेवा प्रवाह गर्नमा कठिनाई भइरहेको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गणेश तुम्बापोले बताए ।
मेचीमार्गको फिदिम ताप्लेजुङ सडक खण्डमा दैनिक निजीका साथै भाडाका २ बढी यात्रु बाहक गाडीको आवागमन हुने गथ्र्यो । पुल अभावले सिधा आवागमन ठप्प हुदा यहाँ दैनिक २ हजार यात्रुले यात्रा गर्न नपाइरहेका यस क्षेत्रमा सञ्चालित हिमाल ट्याक्सी व्यावसायि संघका निसान लिम्बू जानकारी दिए । २ सय यातायात मजदुरले बेरोजगारको स्थिती भोग्नु परिरहेको पनि उनले सुनाए । फिदिम ताप्लेजुङ खण्डमा मेचीमार्ग अवरुद्ध हुदा स्थानीय जनजीवन कष्टकर बनेको छ । पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङ नै जोडिने वैकल्पिक मार्ग तमोर कोरीडोर हेवाखोला स्थितकै बेलिब्रिज बाढीले बगाएको छ । हेवाखोलामा अहिले बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न तुइन सञ्चालनमा ल्याइएको छ । त्यसैगरि बेलब्रिज पनि निर्माणरत छ ।
फोटोः मेचीमार्ग अन्तर्गतको पाँचथर स्थित फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा रहेको बाढीले बगाएपछि हेवा खोला पुलको भग्नावशेष ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  २ : ३७ बजे