पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । प्रकोपको रुपमा फैलिइरहेको लम्पि स्किन रोगले पाँचथर, ताप्लेजुङका बाह्र हजार ९३ वटा गाई, भैंसी, गोरु, बाछाबाछी संक्रमित भएका छन् । यहि रोगका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनु्सार दुई जिल्लामा लाखौ मुल्यका १०२ वटा दुहुनो गाई, हल गोरु मरिसकेका छन् ।
यस क्षेत्रमा हिजोआज हल गोरु र दुहुनो गाईले पचास हजारदेखि एक लाख रुपियाँ बढीसम्म मुल्य साट्छन् । लाखसम्मका बस्तु भाउको गोठै रित्तीने गरि क्षती हुदा किसान मर्माहत भइरहेका छन् । दुहुनो गाई मासिइदा कतिपय किसानको मुख्य आय आर्जनको बाटो नै ठप्प भएको छ । तत्कालिन अवस्थामा पाँचथरमा एघार हजार ९७३ र ताप्लेजुङमा १२० वटा बस्तुभाउ संक्रमित छन् । त्यसैगरि मर्न पनि पाँचथरमै धेरै १०० र ताप्लेजुङमा २ वटा गाईगोरु मरेका छन् । गाईगोरुमा बढी देखिएको यो रोग भैंसीमा पनि देखिए पनि हालसम्म मरेका छैनन् । यो रोग पाँचथरका ४० र ताप्लेजुङको एउटा भैंसीमा लागेको पाइएको छ । चैत पहिलो हप्तादेखि देखिन थालेको लम्पि स्किन प्रकोप पाँचथरको कुम्मायक गाउँपालिकामा सवैभन्दा बढी देखिएको छ । यहाँका ६ हजार बस्तुभाउँ संक्रमित भएका पाइएको छ । त्यसपछि फालेलुङ गापाका चार हजार ८००, मिक्लाजुङ गापाका चार हजार ८००, फाल्गुनन्द गापाको चार हजार २०० संक्रमित छन् । फिदिम नगरपालिकामा दुई हजार ५००, हिलिहाङ गापामा एक हजार ६००, तुम्बेवा गापामा एक हजार ५०० र याङ्वरक गापामा १०० बिरामी छन् ।
ज्वरो आउने, जिउमा गिर्खा निस्कने, गिर्खा पाकेर कुहिएपछि किरा पर्ने लम्पि स्किन रोगको लक्षण देखिने गरेको छ । यो रोग नियन्त्रणको प्रयास भइरहेको भेटेरिनरी अस्पताल पाँचथर प्रमुख मनोजकुमार महतोले बताए । उनका अनुसार पाँचथरको फाल्गुनन्दमा तीन हजार, मिक्लाजुङमा दुई हजार ५००, फालेलुङ एक हजार ५०० र फिदिममा एक हजार डोज लम्पि स्किन विरुद्धको खोप दिइएको छ । भेटेरिनरीबाटै हाल एक हजार डोज खोप र दुई लाख मुल्यको पशु औषधि खरिद गरेर वितरण कार्य भइरहेको जनाइएको छ । हावा र झिँगाबाट फैलने बताइने लम्पि स्किन भाइरस उच्च तापक्रममा अझ सक्रिय हुने पशु चिकित्सक बताउछन् । लामो समयदेखि पानी नपरेर खडेरी पर्नुका साथै गर्मी मौसम भएका कारण पनि पाँचथर ताप्लेजुङमा अहिले उच्च तापक्रमको महसुुस भइरहेको छ । यहि समय यस क्षेत्रमा लम्पि स्किन प्रकोप बनेको छ । तापक्रम बढाउने खडेरी जारीरहे लम्पि स्किन भाइरस अझ व्यापकले फैलन जोखिम धेरै रहेको कुम्मायक गापा पशुपंछि शाखा प्रमुख डा. नगेन्द्र दाहालले जानकारी दिए । लम्पि स्किन रोग सरुवा भएकाले संक्रमित बस्तुभाउलाई क्वारेन्टाइनमा राखेर उपचार पद्धदी अपनाउनु पर्ने हुन्छ । यो तरिका लागु गर्न चरिचरनमा आधारित पशु पालन भइरहेको कुम्मायक क्षेत्रका लागि संभव हुन नसकिरहेको डा. नगेन्द्रले सुनाए । काटेर खुवाउने गरि प्रायः घास नपलाउने सुख्खा क्षेत्र रहेकाले कुम्मायकका किसानले बस्तु भाउ चरिचरनमा लानै पर्ने बाध्यता छ ।
लम्पि स्किन विरुद्धको औषधि उपचारका लागि कुम्मायक गापाले धेरै खर्च गरिसकेको एक नम्बर वडा अध्यक्ष देवेन्द्र लावती भनाई छ । कावु बाहिर जान नदिन लम्पि स्किन रोग नियन्त्रणका लागि प्रदेश र संघ सरकारले सघाउनु पर्ने उहाँको माग छ । लम्पि स्किन नियन्त्रण बाहिर गए पाँचथर, ताप्लेजुङ क्षेत्रमा दुई लाख भन्दा बढी चौपाया संक्रमित हुने संभावना रहेको पशु चिकित्सक भनाइ छ । खनजोत गर्ने मुख्य सिजनमा गोरुहरुमा लम्पि स्किन संक्रमण फैलदा खेती प्रणाली नै अवरुद्ध हुने अवस्था सिर्जना भइरहेको फिदिम–२ का किसान कमल तुम्बापोले दुखेसो गरे ।

फोटोः पाँचथर कुम्मायक गाउँपालिका स्थित लम्पि स्किन संक्रमित गाई गोरुलाई पशु चिकित्सकद्वारा उपचार गरिदै ।

तश्विर सौजन्यः कुम्मायक गाउँपालिका, पशुपंछी शाखा, पाँचथर ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ९ : ०१ बजे