पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । पाँचथर र ताप्लेजुङका विकट क्षेत्रमा गत असोजदेखि निर्माण गर्न थालिएका १५ वटा नयाँ झोलुङ्गे पुल बनाई सकिएका छन् । एक नम्बर प्रदेश सरकारको आर्थिक सहयोग तथा पूवार्धार विकास कार्यालय पाँचथरले स्थानीय उपभोक्ता समितिहरुसंगको सहकार्यमा पुल बनाएको हो ।
चालु आर्थिक वर्षमा बनाइ सक्ने लक्षले बनाउन थालिएका पुलहरु आठ महिनामा बनाइएका हुन् । निर्माण सम्पन्न पुल पूर्ण रुपमा सञ्चालनमा आइसकेका पूवार्धार विकास कार्यालय पाँचथर प्रमुख राजनराज रेड्डीले बताए । नयाँ पुल पाँचथरमा १० र ताप्लेजुङमा ५ वटा बनाइएको उहाँको भनाई छ । पाँचथरको फिदिम नगरपालिकामा भर्याङ खोला, चुनेदोभान र याङवरक गाउँपालिकाको शिवा खोलामा नयाँ पुल बनाइएको हो ,। त्यसैगरि फालेलुङ गापामा गुप्तेश्वर–पानामा–खरबारी, सिरिसे सिल्लि पाखा–खोलाघारी, गोवाटार च्याने, बज्राठे थरीटारमा बनेका छन् । यहाँकै दक्षिणी मिक्लाजुङ गापाको नावाखोला–थामथुम दोभान, कुरुङखोला–जामुनबोटे–अविरजङ्ग जग्गा जोड्ने र लप्सिबोटे–नरकटे पुच्छरमा पनि बनाइयो । ताप्लेजुङ अन्तर्गत फूङ्लिङ नपाका ओठे थवाङ र निकाश खोलामा नयाँ पुल थपिइएको हो । यसै जिल्लाको मेरिङ्देन गापाको ओगेन–साईजिम जोड्ने र फक्तालुङ गापाको हेल्लोक र मेन्देवा खोलामा पनि बनाइएको । नयाँ बनेका पुलबाट पाँचथर, ताप्लेजुङका विकट हजारौ ग्रामिणवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
नयाँ पुल बनेपछि आफूहरुले धेरै राहत पाएको ताप्लेजुङका हेल्लोक खोला झोलुङ्गे पुल निर्माण समिति अध्यक्ष उत्तरमान लिम्बूले बताए । पुल नहुँदा आवतजावतमा चरम समस्या भोग्नुका साथै हेल्लोक खोलाले बगाएर आफ्नो छोरी समेत गरि ६ जनाको ज्यान लिएको दुःखद विगत पनि उत्तरमानले सुनाए । उहाँले भने, ‘अव यस्तो समस्या पुल बनेसंगै झेल्नु नपर्ने अवस्था सिर्जना हुदा हामीमा धेरै खुसीयाली छाएको छ ।’ पुल नहुदा विभिन्न कष्ट भोग्नु पर्ने अवस्था त छदै थियो, खोला तर्न नसक्ने बालबालिकाले विद्यालय जान बञ्चित समेत हुने गरेका थिए । आफूहरुको क्षेत्रमा मुख्य समस्याको रुपमा रहेको बालबालिका विद्यालय जान नपाउने स्थितीको अव अन्य भएको पाँचथर मिक्लाजुङ गापाका तिर्थबहादुर माखिमले बताए । मिक्लाजुङमा नवनिर्मित कुरुङखोला–जामुनबोटे–अविरजङ्ग झोलुङ्गे पुल निर्माण समिति अध्यक्ष समेत रहनु भएका माखिमले पुलले वारीपारिको समाजिक सम्बन्ध जोड्न पनि सघाउने विश्वास व्यक्त गरे ।
पन्ध्र वटा पुल निर्माणका लागि आठ करोड ५२ लाख ७९ रुपियाँ लागत लाग्लेको पूवाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नवनिर्मित लप्सीबोटे नरकटे पुच्छर झोलुङ्गे.पुल ।

तस्विर सौजन्यः पूर्वाधार विकास कार्यालय, पाँचथर

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १ : ५१ बजे