पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सदरमुकाम फिदिममा ब्याडमिन्टन खेलको अम्पायर तालिम सम्पन्न

“लोकप्रिय बन्दै गएको खेल नियमानुसार सञ्चालन गर्न अम्पायर तालिम आयोजना गरिएको हो”


मंगल बेघा

फिदिम । ब्याडमिन्टन खेलको प्रदेश स्तरीय अम्पायर तालिम पाँचथर जिल्लाको सदरमुकाम फिदिममा सोमबार सम्पन्न भएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग, ब्याडमिन्टन संघ पाँचथरको व्यवस्थापन तथा कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा फिदिममा गत शुक्रबारदेखि सुरु भएको चार दिने तालिम आज सम्पन्न भएको हो ।


ब्याडमिन्टन खेललाई व्यवस्थित रुपमा सञ्चालन गर्न तालिम आयोजना गरिएको प्रदेश समितिका अध्यक्ष योगेश्वर श्रेष्ठले बताए । – उनने भने– “अबदेखि सञ्चालन हुने खेलहरु व्यवस्थित हुनेछन् ।” तालिम लिएका अम्पायरहरुलाई प्राविधिक समूहमा आवद्ध गराई स्थानीय, जिल्ला, प्रदेश र देशव्यापी हुने प्रतियोगितामा अवसर समेत प्रदान गरिने उनले जानकारी दिए । तालिमको मूख्य प्रशिक्षक रहेका ब्याडमिन्टन एसियाका सर्टिफिकेटेड अम्पायर दिपक थापाले दक्ष जनशक्तिले मात्र व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिने र तालिमवाट यो आवश्यकता परिपूर्ति हुने बताए । “कुनै पनि खेल व्यवस्थित रुपमा सञ्चालन गर्न प्राविधिक दक्ष हुनु पर्र्छ”– उनले भने– “यो तालिमवाट प्रदेश भरी हुने प्रतियोगिताहरु नियमानुसार सञ्चालन हुने अपेक्षा लिएको छु ।” नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रशिक्षित अम्पायरहरुको प्रदर्शनका आधारमा थप तालिमको व्यवस्था गरिने जानकारी दिए ।


तालिमवाट ब्याडमिन्टन खेल खेलाउने आधारभूत ज्ञानसँगै सीप समेत हासिल भएको झापावाट सहभागि देशमाया राईले बताईन् । यसैगरी, सुनसरीका ५३ वर्षीय खोम शंकर भण्डारीले सवै उमेर समूहका लागि व्याडमिन्टन खेल लोकप्रिय भएको बताउँदै तालिमले ज्ञान मात्र नभएर यो खेल प्रति आकर्षित समेत गराएको बताए ।
तालिममा पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, झापा, इलाम, भोजपुर सोलुखुम्बु र ओखलढुङ्गाका दुई महिला सहित २२ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।

प्रशिक्षकलाई सम्मान

ब्याडमिन्टन खेलको प्रदेश स्तरीय तालिम सम्पन्न गर्न मूख्य प्रशिक्षको भूमिका निर्वाह गरेका ब्याडमिन्टन एसियाका सिर्टिफिकेड अम्पायर दिपक थापालाई तालिम समापन समारोहमा सम्मान गरिएको छ । ब्याडमिन्टन संघ पाँचथरले थापालाई सम्मान गरेको हो । संघका अध्यक्ष रामबीर राई र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले थापालाई दोसल्ला ओढाउनुका साथै मायाको चिनो प्रदान गरेर सम्मान गरेका हुन् । जिल्ला–जिल्लामा अम्पायरको आवश्यकता भएको बखत व्यस्त समयका बाबजुत तालिमको सहजिकरण गरेर थापाले उल्लेखनीय योगदान पुर्याउनु भएकोले अभिप्रेरित गर्न सम्मान गरिएको संघका अध्यक्ष रामबीर राईले बताए । थापा तालिम सुरु हुने अघिल्लो दिन मात्र थाईल्याण्डमा प्रतियोगिता सञ्चालन गरेर फर्किएका थिए । सोही क्रममा ब्याडमिन्टन संघ प्रदेश समितिका अध्यक्ष योगेश्वर श्रेष्ठ र सदस्य भवानी आङदेम्बेलाई समेत मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ५७ बजे