पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

काठमाडौं । काठमाण्डौमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । नेपालले फाइनलमा युएईलाई ७ विकेटले हराउँदै उपाधि मात्र हात पारेन, एसिया कपमा समेत स्थान पक्का गरेको छ ।
युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतीमा ३०.३ ओभरमा पूरा गर्यो । नेपालको जितमा गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका थिए । झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे भने सार्की ७२ बलमा ४ चौका सहित ३६ रनमा क्रिजमा रहे ।
युएईले दिएको सामान्य लक्ष्य पछ्याने क्रममा नेपालको सुरुवात भने गतिलो हुन सकेन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै स्पिनर रोहन मुस्तफाको बलमा ओपनर कुशल भुर्तेल १ रनमा एलबीडब्लू आउट हुन पुगेका थिए । सातौं ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई ८ रनमा एलबीडब्लू आउट गरे । आठौं ओभरको अन्तिम बलमा मुस्तफाले कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड आउट गरेपछि नेपाल २२–३ को दयनीय अवस्थामा पुगेको थियो । युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । आयन खानले ९.३ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर १ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट हुन पुगेको थियो । युएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए पनि अन्य व्याटसमेन क्रिजमा टिक्न नसक्दा सस्तैमा समेटिएको थियो । युएईका कप्तान मोहम्मद वासिम ११, आर्यन लाक्रा १३ र वृत्य अरविन्द ८ रनमा आउट भए । यसैगरी, रमिज शाहजाद १, रोहन मुस्तफा २, वासिल हामिद १०, आयन खान ५, कार्थिक मेइयाप्पान १ र जुनाइद सिद्धिक्यूले १० रन जोडेका थिए ।
युएईलाई सस्तैमा समेट्न नेपालका स्पिनर ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र गुलशन झाले सामान एक विकेट लिए ।
एसिसि प्रिमियर कपको उपाधि कब्जा गरेसँगै नेपाल आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनौट भएको छ । समूह ए मा भारत, पाकिस्तान र नेपाल हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । दुवै समूहका दुई शीर्ष टोलीले सुपर फोरमा स्थान सुरक्षित गर्नेछन् । यसवाट शीर्ष दुई टोली फाईनल प्रवेश गर्नेछन् । मिति समेत तय भई सकेको प्रतियोगितामा आयोजना अझै पनि अन्यौलमा रहेको छ । पाकिस्तानमा हुने प्रतियोगितामा भारतले सहभागिता नजनाउने बताउँदै आएकोले प्रतियोगिता अझै अन्यौलमा रहेको हो ।
फाईनल समिकरण कसरी भयो ?
एसिसि प्रिमियर कपमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए मा नेपालसहित ओमान, मलेशिया, साउदी र कतार सम्मिलित थिए । यसैगरी, समूह बी मा युएई, कुवेत, हङकङ, बहराईन र सिङ्गापुर थिए । समूह ए मा नेपाल ३ खेलमा जीत र अवरुद्ध भएको १ खेलमा १ अंक थप गर्दे ७ अंकका साथ शीर्षस्थानमा रहदै सेमिफाईनलमा पुग्यो । यस समूहवाट ओमान ३ खेलमा जीत र १ खेलमा हारसहित ६ अंकका साथ उपविजेताका रुपमा सेमिफाईनल पुगेको थियो । समूह बी मा युएई ३ खेलमा जीत र १ खेलमा हार बेहोर्दै ६ अंका साथ समूह विजेता रह्यो भने समान अंक जोडेको कुवेत रनरेटका आधारमा उपविजेता हुँदै सेफिफाईनल पुग्यो । समूह ए को विजेता नेपालले समूह बी को उपविजेता कुवेतलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । वर्षाले प्रभावित यो खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । दोस्रो इनिङमा कुवेतले ८।३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन मात्र जोडेको अवस्थामा पुनः वर्षा भएपछि यसअघिको प्रदर्शनका आधारमा नेपाल फाईनल प्रवेश गरेको हो । समूह बीको विजेता युएईले समूह ए को उपविजेता ओमानलाई वर्षाले प्रभावित खेलमा डर्कवर्थ लुईस विधिद्धारा पराजित गर्दै फाईनलमा स्थान सुक्षित गरेको थियो ।
उत्कृष्ट उपाधि क–कसले पाए ?
नेपालका स्पिनर सन्दिप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छनोट भए । यो प्रतियोगितामा उनले ५ खेलमा १३ विकेट लिएका थिए । यसैगरी, ६ खेलमा ४ सय ५४ रन बनाएका युएईका वत्य अरविन्द उत्कष्ट ब्याटर छनोट भए । यो प्रतियोगितामा उनले २ शतक र १ अर्धशतक बनाएका थिए । ६ खेलमा १७ विकेट लिएका ओमानका बिलाल खानले उत्कृष्ट बलरको उपाधि हात पारे ।

फोटो सौजन्य– एनसिएसएस

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ६ : ४६ बजे