पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताएका छन् । एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको उनको भनाइ छ ।
एमाले पाँचथरद्वारा फिदिममा शनिबार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले देशको विकास निर्माणको कार्य अवरुद्ध हुने अवस्था सिर्जना भइरहेको बताए । अस्ति भर्खरै ‘कर्मचारीलाई नै तनखा खुवाउन नसक्ने अवस्थामा पुगिहालेको त छैनौ है’ भन्दै अर्थमन्त्रीले दिएकाे अभिव्यक्तिमा मुलुकको दयनीय स्थिति झल्किने अध्यक्ष ओलीले बताए ।
उनले मुलुकलाई सही बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने भएकोले पार्टीलाई बलियो बनाउनतर्फ आम कार्यकर्तालाई लाग्न निर्देशन दिएका छन । देशको समृद्धि अरू कुनै दलीय सरकारको नेतृत्वमा सम्भव नरहेको उनले दाबी गरे ।
मुलुकको हिततर्फ अरू कुनै पार्टी नलागेर एमालेले गरिरहेको राम्रो कामको विरोध मात्रै गरिरहेका उनको भनाइ छ । एमालेलाई बिचारमा आधारित अनुशासित, सुदृढ र एकताबद्ध बनाएर देशकै बलियो शक्ति बनाइने उनले चर्चा गरेका थिए।
सङ्गठन लोगो झुन्ड्याउनका लागि मात्र नभएर क्रियाशील रहन र जनतालाई सचेत सक्षम पार्न आवश्यक रहेको उनको भनाई छ। आफ्नो गरिबी आफै निवारण गर्न लाग्नुपर्छ भन्दै उनले कुनै न कुनै उत्पादनशील पेसामा अनिवार्य आबद्ध हुन पनि सल्लाह दिए । समयानुकूल सबै अवसरको सही सदुपयोग गर्दै आर्थिक सशक्तीकरणमा लागे मात्रै समाजलाई विकासको लयमा हिँडाउन सकिने उनको भनाइ छ ।
आफूले पनि साथीहरूलाई चिया बनाएर खुवाउने गरेको चर्चा गर्दै अध्यक्ष ओलीले भने, “राजनीतिका नाममा निष्क्रिय हुने र श्रमलाई घृणा गर्ने बाटोमा लाग्नु हुँदैन ।” कोशी प्रदेश नामकरणका विरुद्धमा आन्दोलनरत पहिचानवादी आन्दोलनकारीलाई लक्षित गर्दै गुन्डागर्दीले पहिचान प्राप्त नहुने बताए । प्रदेश सभामा बहुमत बनाएर नाम परिवर्तन गर्न सकिने उनले सुझाव दिएका छन ।

अध्यक्ष ओली फिदिम आएको बेला पहिचानवादी आन्दोलनकारीले अध्यक्ष ओलीको विरुद्धमा कालो झण्डा देखाउनुका साथै मसाल जुलुस प्रदर्शन गरेका थिए । कोशी प्रदेश नामाकरण पहिचान विपरित रहेको र सो नामाकरण हुनमा यसका मुख्य मतियार केपी ओली रहनु भएको भन्दै पहिचानवादी आन्दोलनकारी उनिप्रति बढी आकोशित छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ५ : ३६ बजे