पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल । नवमीडाँडा

नयाँवर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित नवमीडाँडामा आयोजित नकआउट खुल्ला फूट्बल प्रतियोगिता अन्तर्गत पुरुष फुट्बल तर्फ कट्टाडाँगी स्पोर्टिङ क्लव झापा र नेपाल पुलिस क्लव पाँचथर बिच उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ ।
अन्तिम सेमी फाइनल खेलमा प्रतिस्पर्धी नानेक्स युवा क्लव फिदिमलाई २–१ गोलअन्तरले पराजित गर्दै कट्टाडाँगी झापाले फाइनलको यात्रा तय गरेको हो भने पहिलो सेमीफाइनल खेलमा ट्राइबेकरबाट प्रतिस्पर्धी टु स्टार ग्रामिण सिर्जनशील क्लव इम्बुङलाई पाखा लगाउँदै नेपाल पुलिस क्लव पाँचथर पनि उपाधि नजिक पुगेको हो ।
यस्तै फुट्बल प्रतियोगिता अन्तर्गत महिलातर्फ न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागु र चोलुङ क्लव याङनामले पनि फाइनलमा आजै प्रतिस्पर्धा गर्नेभएका छन् । सेमीफाइनल खेलबाट प्रतिस्पर्धी टिमलाई हराउँदै चोकमागु र याङ्नाम महिलातर्फको उपाधि नजिक पुगेका हुन् ।
सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा आज सोमबार दिउँसो १ बजेदेखि पुरुष फुट्बल र ३ बजेदेखि महिला फुट्बलको फाइनल खेल सञ्चालन गरिने आयोजक तिजोक यूवा क्लवका सहसचिव राजु आङ्देम्बेले बताए ।
यसवर्षको पुरुष फूट्बल प्रतियोगिताको बिजेताले १ लाख २० हजार रुपैयाँ र उपबिजेताले ७० हजार रुपैया नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् । यस्तै महिला फुट्बल प्रतियोगिताको विजेताले ३५ हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
२०७९ चैत्र २९ गतेबाट शुरु भएको पुरुष फुट्बल प्रतियोगितामा पाँचथर जिल्ला र जिल्ला बाहिरका प्रतिष्ठत क्लवका ८ ओटा टिम र महिला फुट्बल प्रतियोगितामा ४ टिमले सहभागिता जनाएको तिजोक यूवाक्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिएका छन् ।
हिजो बैशाख ३ गते राष्ट्रिय कलाकारहरु मेलिना राई,पदम राई,साहिल लिम्बू लगायतको प्रस्तुती र स्थानिय कलाकारहरुको साथमा नवमीडाँडामा बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रम समेत सम्पन्न भएको छ । बैशाख २ गते देखि नवमीडाँडा बजारमा नयाँवर्ष मेला पनि सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : ४३ बजे