पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सुन्दर प्राकृतिक सम्पदा चौंरी चर्चा (फोटो फिचर)

हिमाली काखमा रमाउने सुन्दर प्राणी हुन्–चौँरी गाई । चौंरीका बथानले हिमालको सौन्दर्यतामा थप मोहकता थपिदिन्छ ।


नाारयण तुम्बापो । पाँचथर

हिमाली काखमा रमाउने सुन्दर प्राणी हुन्–चौँरी गाई । चौंरीका बथानले हिमालको सौन्दर्यतामा थप मोहकता थपिदिन्छ । चौरी नभए हिमाली आकर्षणको साख नै घट्छ । त्यसो त हिमाल विना चौंरीको अस्तित्व पनि नरहन सक्छ । किन की प्रायः उच्च भू–भागको चिसो र हिउ चौंरीको जीवनचक्रका लागि अनुकूल वातावरण हो । हिमाली क्षेत्रको पर्यावरण संरक्षणमा चौंरीले ठूलो सहयोग पुर्याउने गर्दछ । हिमाल र चौंरी एक आपसका परिपुरक जस्तै हुन् भन्दा फरक नपर्ला ।

हिमालको देश नेपालका लागि चौंरी गाई अझ धेरै महत्वको प्राकृतिक सम्पदा हो । चौँरी गाई हिमाली क्षेत्रमा घरपालुवा र जङ्गली जनावरको रुपमा पालिइन्छन् । गर्मी सुरु भएसंगै हिजोआज औल झरेका चौँरी लेक तर्फ उकालो चढ्न थालेका छन् । हिमपातको समयमा घाँस नपाउने र हिमपातबाट बचाउन गोठालाहरुले चौँरी औल झार्ने गर्छन् । हिउदको कात्तिकदेखि फागुन विचको पाँच महिनासम्म चौँरी औलमा ल्याइन्छ ।

फोटो क्याप्सनः ताप्लेजुङको तोक्पेगोला, सिदिङवा र पाँचथरको फालेलुङ फालोट, चारराते क्षेत्रका हिमाली चरिचरन क्षेत्रमा रमाइरहेका चौँरी गाई ।


नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखोम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला लगायतका २८ जिल्लामा चौरी रहेका पाइन्छ । तीन हजारदेखि पाँच हजार उचाईको सेरोफेरोमा चौरीे रमाउने गर्छन । हिमालीवासीले मुख्य जिविकोपार्जनको आधारका रुपमा चौंरी पाल्ने गरेको पाइन्छ । चौरीेको दूध, मासु, ऊन विक्री र भारी बोक्ने ढुवानीको साधनको रुपमा प्रयोग गरेर किसानले आम्दानी लिने गर्छन् । प्रकृति, संस्कृति, जीविकोपार्जन र पर्यटनसंग धेरै महत्व राख्ने चौंरीको संख्या भने सालिन्दा घट्दो क्रममा रहेको अध्ययनले देखाउछ । मानविय गतिविधिले निम्तिएको जलवायु परिवर्तनका कारण हिमालको अस्तित्व संकटमा पर्न थालेसंगै चौंरीको जीवनचक्र पनि प्रभावित हुन थालेको देखिन्छ । यसतर्फ आम सरोकारवालाको गम्भिर ध्यानकर्षण हुन जरुरी छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : ५९ बजे