पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा
पाँचथर । इलाममा आगामि चैत्र २६ र २७ गते इलाम साहित्य महोत्सव आयोजना हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको महोत्सवलाई इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजना गर्न लागेका हुन् ।
महोत्सवमा नेपाल र भारतका विशिष्ट साहित्यकारहरुको जमघट हुने आयोजकले जनाएको छ । कार्यक्रममा राजनीतिज्ञ, चलचित्रकर्मी र कलाकर्मीहरुको समेत सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनु भयो । दुई दिने महोत्सवमा रचना बाचन देखि विभिन्न समसामयिक विषयहरुमा अन्तरक्रिया र कला प्रदर्शनी हुने अध्यक्ष थाम्सुहाङले जानकारी दिनु भयो ।
महोत्सवमा ‘कवितामा स्थानीय चेत’ विषयक अन्तरक्रियामा लीला अनमोल, तीर्थ श्रेष्ठ र भूपिन वक्ताका रुपमा सहभागि हुनेछन् भने यो कार्यक्रमलाई राजु स्याङ्तानले सहजीकरण गर्नेछन् । राजा पुनियानीले सहजीकरण गर्ने ‘कला र आदिवासी सौन्दर्य चेतना’ शीर्षकको कार्यक्रममा बन्दना टेटे, अश्विनीकुमार पंकज मुख्य वक्ताका रुपमा सहभागी हुनेछन् । यसलाई दार्जीलिङ भारतका राजाले सहजिकरण गर्नेछन् ।
‘अंक, अर्थ र अध्यात्म’ शीर्षकमा हुने कार्यक्रमका मूख्य वक्ता विश्व पौडेल रहनेछन् । अतिथिका रुपमा सांसद महेश बस्नेत, इलाम नगरपालिकाका मेयर केदार थापा र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई रहनेछन् । यस्तै, ‘महाभारादेखि टिष्टासम्म’ शीर्षकमा हुने अर्को कार्यक्रममा वक्ताहरुमा छुदेन काविमो र वसन्त बस्नेत रहनेछन् भने यसलाई शकुन्तला जोशीले सहजीकरण गर्नेछिन् ।
यसैगरी विमाल वैद्य सहजिकरण गर्ने ‘लेखनः सहज कि सार्थक?’ विषयमा हुने कार्यक्रममा युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहाल वक्ताका रुपमा सहभागिता हुनेछ । ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’ विषयको छलफलमा सोनाम टासी लामा, कल्पना महर्जन र कृष्ण साह वक्ता रहनेछन् । यसलाई विराट अनुपमले सहजीकरण गर्नेछन् ।
‘समावेशी लेखन र समकालिनता’ विषयमा हुने अर्को कार्यक्रमका वक्ताहरु डा. ज्ञानेन्द्र यक्सो, मिश्र वैजयन्ती र धर्मेन्द्र नेम्वाङ रहनेछन् । यो कार्यक्रमलाई बालिका थपलियाले सहजीकरण गर्नेछिन् । यसैगरी ‘मातृभाषा साहित्यमा शिल्प चेतना’ विषयक छलफलमा मधुराज केरुङ र संजोग लाफा मगर वक्ताका रुपमा सहभागी हुनेछन् भने यसलाई सन्देश सुब्बाले सहजिकरण गर्नेछन् ।
‘कस्तो सिनेमा’ शिर्षकको अन्तरक्रियामा वैशाख १ गतेदेखि प्रदर्शनको तयारी गरिएको चलचित्र ‘जारी’का निर्देशक तथा कवि उपेन्द्र सुब्बा र नायिका सुरक्षा पन्त वक्ताका रुपमा सहभागि हुनेछन् भने यसलाई अन्वेश थुलुङले सहजिकरण गर्नेछन् । ‘नारी, पर्या–साहित्य र सत्ता’ विषयको छलफलमा रेमिका थापा, सञ्जीव पौडेल र शोभा यल्मू अतिथिका रुपमा सहभागी हुनेछन् भने निमेश निखिलले सहजीकरण गर्नेछन् ।
‘राजनीतिमा ऐजेण्डा कि अनुहार?’ शीर्षकको अर्को अन्तरक्रिया हुनेछ । यो सेसनमा घनश्याम भुषाल, गुरुराज घिमिरे र खगेन्द्र संग्रौला रहनेछन् भने यसलाई पत्रकार वसन्त बस्नेतले सहजिकरण गर्नेछन् ।
यसैगरी ‘पहिचानको सङ्घर्ष’का विषयमा खगेन्द्र सङग्रौला वक्ताका रुपमा रहनेछन् । कार्यक्रममा चर्चित कवि कुमार नगरकोटीको ‘विशेष कविता वाचन’ र विभिन्न गजलकारहरुले गजल वाचन गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा क्यानभास कलेबरका रुपमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको चित्रकला कार्यशाला र प्रदर्शनी पनि हुनेछ । रेडपाण्डा संरक्षणबारे चेतना फैलाउन गरिने यो कार्यक्रममा ललीतपुरका अनिल महर्जन, जयराम महर्जन, आशा डंगोल र एरिना ताम्राकारले सहभागिता जनाउनेछन् । यसैगरी इलामका काजी राना र प्रेम केसी पनि यो कार्यक्रममा सहभागी हुनेछन् । गौतमबुद्ध सभागृह परिसरमा चित्रकला कार्यशाला रेडपाण्डा सम्बन्धी चित्रहरु सिर्जना तथा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
पर्यटनको माध्यमवाट इलामलाई देश विदेशमा प्रचार–प्रसार गर्न महोत्सवको तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले बताउनु भयो । उहाँका अनुसार महोत्सवमा २ सय भन्दा वढि साहित्यकार, चलचित्रकर्मी, राजनीतिकज्ञ तथा कलाकारहरुको सहभागित रहनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ०७ बजे