पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा
पाँचथर । कुम्मायक गोल्डकप– २०७९ को उपाधि याङवरक गाउँपालिकाको पोल्टामा परेको छ । बुधबार कुम्मायक गाउँपालिकाको केन्द्र यासोक वजार स्थित खेल मैदानमा सम्पन्न फाईनल खेलमा याङवरकले फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोलले पराजित गर्दै चौथो संस्करणको यो उपाधि हात पारेको हो ।
याङवरकलाई जित दिलाउन सुमन योङयाले पहिलो गोल छैटौं मिनेटमा गरेका थिए । ३८ औं मिनेटमा पुस्कर काम्बाङले याङवरककाे लागि अर्काे गोल गरे भने ६२ औं मिनेटमा सुमन योङयाले पुन गोल गरेका थिए । फाल्गुनन्दको तर्फवाट ३३ औं मिनेटमा बिनोद नेम्बाङले गोल गरेर खेलमा फर्कने प्रयास गरेका थिए ।
विजेता याङवरकले रु १ लाख ११ हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र सहित उपाधि हात पारेकाे हो । उपविजेता फाल्गुनन्दले ५५ हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । प्रतियोगितामा ४ गोल गरेका फाल्गुनन्दका विनोद नेम्बाङ सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट फरवार्ड, गोलकिपर र प्रशिक्षक याङवरकका क्रमशः सुमन योङया, रबिन बेघा र तुफान क्षत्री बने । यसैगरी, उत्कृष्ट रक्षक र मिडफिल्डर क्रमशः फाल्गुनन्दका विदेश आङदेम्बे र ऋतिक आङदेम्बे छानिए । प्रतियोगितामा कुम्मायकका शुशिल लावती उदयमान खेलाडी घोषित भए । सवै विधाका उत्कृष्ट खेलाडीले जनही रु ५ हजार नगद पुरस्कार पाए । विजेता खेलाडीहरुलाई कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले पुरस्कार वितरण गरेका हुन ।
कुम्मायक स्पोटिङ क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता चैत्र ११ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा पाँचथरका ८ ओटै स्थानीय तहको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष रोहण घिमिरेले बताए । प्रतियोगिता सम्पन्न गर्न कुम्मायक गाउँपालिका प्रर्वद्धक र अन्य विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  २ : २४ बजे