पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरका चारवटा सडक कालोपत्रे गर्ने अन्तिम चरणमा

पाँचथरका ग्रामिण सडकहरु धमाधम कालोपत्रे हुन थाल्दा जिल्ला अन्तर्गत सुविधादायी यातायात व्यवस्थापनमा सघाउ पुग्न थालेको छ


नारायण तुम्बापो

फिदिम । पाँचथरको सदरमुकाम फिदिमसंग सिधा सम्पर्कमा जोडिने चारवटा ग्रामिण सडक कालोपत्रे गर्ने अन्तिम चरणमा पुगेका छन । सखरखण्डे–यासोक, शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडा, फिदिम–फालोट, र शनिबारे–लुङ्रुपा–गोरुवाले सडक कालोपत्रे गर्न लागिएको हो ।
यी सडकको कालोपत्रेका लागि आवश्यक नाली, वाल, कलभर्ट, ग्राभेल लगायतका पूर्वाधार निर्माण पुरा गरिएको पूर्वाधार विकास कार्यालय पाँचथर प्रमुख राजनराज रेड्डीले बताए । यहि आर्थिक वर्षमा कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ । ४६ करोड ४८ लाख रुपैंयाँ लागतमा फिदिम फालोटको फिदिम–नागीन खण्डको १० दशमलव ११२ किलोमिटर कालोपत्रे हुन लागेको हो । शनिबारे–लुङ्रुपमा–गोरुवाले अन्तर्गतको २६ करोड ४५ लाख ५० हजार लागतमा फिदिमदेखि साढे ७ किलो मिटर कालोपत्रे गर्न लागिएको हो । उल्लेखित दुई सडकको कालोपत्रे गरिने खण्डमा अहिले प्राइम विछ्याउन थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पाँचथरको शनिबारे–लुङ्रुपा–गोरुवाले सडक खण्ड कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम हुदै ।


कुल लागत ४७ करोड ७ लाख रुपैंयाँमा ११ दशमलव ३१ किलोमिटर सखरखण्डे–यासोक कालोपत्रे गर्न लागिएको हो । त्यसैगरि शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडाको १३ दशमलव ९२ किलोमिटर सडक ५९ करोड ३६ लाख रुपैंयाँमा लागतमा कालोपत्रे विछ्याउने चरणमा रहेको छ । सखरखण्डे–यासोक र शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सकड असार मसान्त सम्ममा कालोपत्रे भइसक्ने प्रमुख राजनराज रेड्डीले जानकारी गराए । कालोपत्रे गर्ने चरणमा रहेका चार वटा सडक प्रदेश सरकारको आर्थिक सहयोगमा २०७६ पुस/फागुनमा विभिन्न निर्माण कम्पनिसंग दुई वर्षमा सक्नेगरि काम गर्ने सम्झौता भएको थियो । कोरना प्रकोपले दुई वर्ष प्रभावित पार्दा कालोपत्रे योजनाहरु निर्धारित समयमै सम्पन्न हुन नसकेको प्रमुख रेड्डीले सुनाए ।
फिदिम–फालोट अन्तर्गतको नागीनदेखि उता २५ किलोमिटर यसअघि नै कालोपत्रे गरिसकिएको छ । फिदिम सदरमुकामसंग जोडिने १२ किमी दूरीको अर्को सडक मायालुमोड–चोकमागु–नवडीडाँडा पनि यसअघि नै कालोपत्रे गरिएको छ । कालोपत्रे गर्ने योजनामा रहेका भेडेटार–रवि–राँके र तमोर कोरीडोर जोङ्ने सप्तमी–दशमी–मौवा–लखुवादोभान अन्तर्गत मौवा–लखुवादोभान खण्ड पनि कालोपत्रे गर्न लागिएको छ । यहाँ १४ किमी कालोपत्रे गर्न ठेक्का आव्हान गरिसकिएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । पाँचथरका ग्रामिण सडकहरु धमाधम कालोपत्रे हुन थाल्दा जिल्ला अन्तर्गत सुविधादायी यातायात व्यवस्थापनमा सघाउ पुग्न थालेको छ । यसबाट अन्य विकासका पूर्वाधार व्यावस्थापनमा पनि टेवा पुग्न थालेको अवस्था छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : २६ बजे