पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो
फिदिम । पाँचथर फिदिमको तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रालिले वर्षा याममा स्थगित गरेको र्याफ्टिङ सेवा हिउद लागे संगै सञ्चालनमा ल्याएको छ । मङ्सिरको दोस्रो साताबाट सुचारु भएसंगै तमोरमा यस वर्षको हिउदे र्याफ्टिङमा बहन चाहनेको आवागमन बढ्न थालेको छ ।
बाढी पहिरोको जोखिम छल्न वर्षा याममा र्याफ्टिङ बन्द गरिने तमोर भ्यालीका सञ्चालक दिपेन्द्र तुम्बापोले बताए । वर्षा याममा सुनसान जस्तै हुने तमोरको रौनकता र्याफ्टिङ सुचारु हुदा वेग्लै हुने गरेको छ । यहाँको र्याफ्टिङमा रमाउन विशेषगरि युवक युवती बढी आकर्षित भइरहेका छन् । पूर्वि पाँचथरका साथै ताप्लेजुङ, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटावासी र्याफ्टिङ खेल्न आउने गरेका छन् । कर्मचारी विदाको समयलाई रोमाञ्चक पलको रुपमा विताउन यहाँ भुल्ने गरेका छन् ।

विगत चार वर्षदेखि स्थानीय युवा उद्यमीको प्रवद्र्धनमा तमोर भ्यालीमार्फत र्याफ्टिङ सञ्चालनमा आएको हो । जल पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने गरि सञ्चालनमा ल्याइएको र्याफ्टिङ व्यावसाय भनेजस्तो फस्टाउन भने सकेको छैन । विदेशी पर्यटक तमोरमा र्याफ्टिङ खेल्न कम मात्रै आउने गरेका व्यवसायी बताउछन् । धेरै आकर्षक र सुरक्षित रहेको अध्ययनले देखाएपछि तमोरमा र्याफ्टिङ सञ्चालनका लागि सरकारले अनुमति खुला गरेको बताइन्छ । यसबाट धेरै लाभ लिन सकिने संभावना रहेपनि प्रवद्र्धनमा भने सरकारले नै चासो नदिएको तमोर भ्यालीका दिपेन्द्र तुम्बापोले गुनासो छ ।
तमोर भ्यालीले काठमाण्डौको रिभर एडभेन्चर ट्रेल्स र इन्स्ट्रन र्याफ्टिङ नेपालसंगको सहकार्यमा र्याफ्टिङ सेवा दिइरहेको हो । तमोर क्षेत्रको माझिटार स्थितको तमोर रिसोर्टले स्थानीय प्रवर्तकको रुपमा र्याफ्टिङ प्रवद्र्धनमा सहयोग गरिरहेको छ । कोरोना प्रकोपका कारण दुई वर्षसम्म बन्द गर्नु पर्दा र्याफ्टिङ व्यावसायबाट घाटा समेत खेप्नु परेको व्यवसायी सुनाउछन् ।

तेह्रथुम पाँचथर सिमा पिनासी घाटदेखि सुनसरीको चतारासम्म र्याफ्टिङ गराइने तमोर रिसोर्टका प्रोपाइटर बरुण तुम्बापोले बताए। मागमा आधारित भएर छोटो दुरिको पिनासी–माझीटार र माझिटार–साँवासेरासम्मका लागि पनि सेवा उपलब्ध रहको उनको भनाई छ । र्याफ्टिङ खेले वापत चार हजार देखि दश हजार रुपियाँसम्म शुल्क लिइने गरेको छ । र्याफ्टिङ सेवाका लागि तमोर भ्यालीले आठ/आठ जना खेलाडी अट्ने दुई वटा नाउ सञ्चालनमा ल्याइरहेको छ । तमोर भ्यालीद्वारा सञ्चालित र्याफ्टिङ सेवा मेचीमार्ग र तमोर कोरीडोर सडकको यात्रा गरेर फिदिम पुगेपछि लिन सकिन्छ ।

तमोर र्याफ्टिङमा रमाईरहेका यूवा

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : ४२ बजे