पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरको कुम्मायक- तिङदेन केन्द्रमा पुन मतदान हुन सक्ने

सर्वदलिय बैठकले सोमबार साँझ ७ बजेबाट मत गणना शुरु गर्ने सहमति समेत गरेको छ


फिदिम । पाँचथर कुम्मायक गाँउपालिका वडा नं. ४ स्थित सिद्घ मावि तिङदेन (ख) केन्द्रमा भएको लापरवाहीका कारण पुनःमतदान हुन सक्ने अवस्था सृजना भएको छ । आईतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा मतदान अधिकृतको कमजोरीको कारण पाँचथर प्रदेश सभा (२) को प्रत्यक्ष तर्फको मतपत्र खसाउनु पर्ने मतपेटीकामा प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतपत्र खसाईकोले पुनःमतदान हुने संभावना बढेको हो । उक्त केन्द्रमा २१ जना मतदातालाई मतदान अधिकृत एवं खटिएका कर्मचारीले प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपत्र दिएको र मतदाताले समेत सोहि मतपत्रमा आफ्नो मत जाहेर गरि प्रदेश सभाको मतपेटीकामा मत खसालेका कारण पुनः मतदान हुन सक्ने अवस्था सृजना भएको हो ।
उक्त केन्द्रमा क्र.स. ००८७००१ देखि ००८७०२१ सम्मका २१ थान मतपत्र खसाईएको थियो ।
मतदाताले केहि समय पछी प्रदेश सभा प्रत्यक्षका लागि दिनु पर्ने मतपत्रको सट्टा प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतपत्र भएको थाहा भएपछी केहि समय मतदान स्थगित भएको र पार्टि प्रतिनिधिहरुको सहमती र मुख्य निर्वाचन अधिकृतको निर्देशन अनुसार मतदानलाई निरन्तरता दिई मतदान सम्पन्न गरिएको थियो ।
आज फिदिम बसेको सर्वदलिय बैठकमा मतदान केन्द्रमा स्थानीय पार्टि प्रतिनिधिहरुले गरेको सहमति अनुसार मत गणना गर्न दलहरु सहमत हुन नसकेपछी आवश्यक निर्देशनका लागि निर्वाचन आयोगलाई पत्र पठाईएको प्रमुख जिल्ला अधिकारी गणेश गैरले बताए ।
उनका अनुसार सो केन्द्रको अन्तिम निर्णयका लागि आयोगमा लेखि पठाईएको छ । आयोगको निर्देशन अनुसार जाने कुरामा सवै दल एवं उमेद्वारहरु सहमत भएका छन ।
साथै सर्वदलिय बैठकले सोमबार साँझ ७ बजेबाट मत गणना शुरु गर्ने सहमति समेत गरेको छ । जिल्ला समन्बय समिति पाँचथरको बैठक कक्षमा सम्पन्न सर्बदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ५२ बजे