पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

बिर्तामोड । बडादशैंमा तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या गर्ने तीन जनालाई बिर्तामोड प्रहरीले सार्वजनिक गरेको छ । आज ईलाका प्रहरी कार्यालय, बिर्तामोडले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।
फुलपातीका दिन सँगै तास खेलेका ताप्लेजुङ सिदिम्बा–४ सुरुमखिम घर भई बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका २५ वर्षीय नविन्द्र गुरुङको हत्या गरिएको थियो ।
सो घटनामा संलग्न इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम – १२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ घर भई सोही होटल बस्ने आचार्यको श्रीमति २३ वर्षीया बिमला राईलाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न थप जना फरार रहेको प्रहरीको भनाई छ । उनीहरुले घटनास्थलबाट १५० मिटर पूर्व भागमा लगेर शव लुकाउने प्रयास गरेका थिए ।
जुवा खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई साथीहरुले टाउको पछाडिको भाग र नाकमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको शव असोज १८ गते विहान बसपार्कको ड्राइभिङ सेन्टर पूर्व भागमा फेला परेको थियो ।
बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरका अनुसार गुरुङको टाउकोमा लोहोरो र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । जुवामा हारजितको विषयलाई लिएर उनीहरु बिच विवाद भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ३४ बजे