पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल
नवमीडाँडा । बडादशैंको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित नवमीडाँडाको सखेवामा आयोजित पुरुष फुट्बल प्रतियोगिताको उपाधि सिस्नेरी यूवाक्लव आङ्साराङले हात पारेको छ ।
फुट्बल प्रतियोगिताको फाइनल खेलमा प्रतिस्पर्धी आयोजक प्रगतीशिल सामुदायिक विकास केन्द्र सखेवालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै सिस्नेरीले उपाधि जितेको हो । खेल शुरु भएको पाँच मिनेटमै सिस्नेरी यूवा क्लव आङ्साराङका बादल लिम्बूले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको छब्बिसौं मिनेटमा आयोजकका सुमन नेम्वाङले एक गोल फर्काएर खेललाई बराबरी कायम गरे तर लगत्तै पाँच मिनेट पछि खेलको एक्तिसौं मिनेटमा आङ्साराङका खेलाडी दिल लिम्बूले थप १ गोल गरी आफ्नो टिमलाई जित दिलाउँन सफल भए । फाइनलमा पराजित भएसँगै आयोजक प्रगतीशिल सामुदायिक विकास केन्द्र सखेवा उपबिजेता बनेको छ ।
फुट्बल प्रतियोगिताको बिजेता सिस्नेरी यूवाक्लव आङ्साराङले ५० हजार ५ रुपैयाँ र उपबिजेता आयोजक प्रगतीशिल सामुदायिक विकास केन्द्र सखेवाले २५ हजार ५ रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेका छन् । खेलका बेष्ट प्लेयर,बेष्ट किपर,बेष्ट डिफेन्डर र हाइस्कोरर लगायत खेलको उत्कृष्ट तर्फका खेलाडीहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ,विशेष अतिथि संविधान सभा सदस्य अइन्द्र सुन्दर नेम्वाङ, फिदिम नगरपालिका वडा नं.९ का वडाध्यक्ष गंगा प्रसाद राई लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन । बडादशैंको अवसरमा प्रगतीशिल सामुदायिक विकास केन्द्र सखेवाले आयोजना गरेको फुट्बल प्रतियोगितामा पाँचथर जिल्लाका विभिन्न स्थानका १४ टिमको सहभागिता रहेको थियो ।
खेल सञ्चालनका लागि आयोजक संस्थाका तत्कालिन खेल संयोजक स्वर्गीय शुकमान सम्बाहाम्फेको परिवारबाट यसवर्षको खेलको प्रथम पुरस्कार ५० हजार रुपैयाँ प्रायोजन गरिएको थियो । उनै स्वर्गीय शुकमान सम्बाहाम्फेको स्मृतिमा फुट्बल प्रतियोगिता आयोजना गरिएको हो । सम्बाहाम्फेको २०७४ साल मंसिर १६ गते निधन भएको थियो ।
यसैगरी नवमीडाँडाका स्थानिय समाजसेवी बुद्धिजिवी,संघसंस्था,व्यापारीहरु,क्लवका संस्थापक तथा पदाधिकारीहरुबाट सहयोग रकम संकलन गरी कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका सभाध्यक्ष शेर बहादुर बम्जनले प्रतियोगिता सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्याबाद दिए ।
फाल्गुनन्द १, साविक नवमीडाँडा ९ सखेवाको शहिद खेलमैदानमा २०७९ असोज १४ गतेबाट शुरु भएको फुट्बल खेलको फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ र फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : १० बजे