पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल,नवमीडाँडा
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडाका कृषकहरुले गत ६ महिना अघि बिक्री गरेको मकैको विऊको रकम नपाएपछि गाडि आफ्नो नियन्त्रणमा लिएका छन् ।
२०७८ माघ र फागुन महिनामा विक्री गरेको मकैको विऊको हालसम्म भुक्तानी नपाएको र ६ र ७ महिनापछि मकैको विऊ कृषक समूहमा नै फिर्ता आएपछि मकैको विऊ फिर्ता लिएर आएका २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएका हुन् ।
अपिल एग्रो एण्ड सिड्स प्रालि फिदिमले २०७८ माघ र फागुन महिनामा नवमीडाँडाका अन्नपूर्ण कृषक समूह अन्तर्गतका कृषकहरुबाट उदारोमा मकैको विऊ खरिद गरेर लगेको र हालसम्म मकैको मूल्य भुक्तानी नगरी यतिबेला मकै फिर्ता पठाएकोले गाडी नियन्त्रणमा लिनुपरेको कृषकहरुको भनाई छ ।
‘‘मकैको विऊको मूल्य भुक्तानी पाउँने आशा गर्दागर्दै ६र७ महिना बित्यो,तर अहिले उल्टै मकैको विऊ फिर्ता आएको छ,त्यसैले हाम्रो मकैको मूल्य चुक्ता नहुन्जेल हामीले मकैको विऊ फिर्ता लिएर आएका गाडीलाई नियन्त्रणमा लिएका हौं । मकैको मूल्य चुक्ता हुनेसाथ हामी गाडी छोडिदिन्छौं” । कृषक अनिरुद्र तिम्सिनाले बताए । पटकपटक मकैको मूल्य भुक्तानी गर्ने म्याद सारिएकोले अब बिश्वास गर्न नसकिने मकै किसानहरुको भनाइ रहेको छ । अन्नपूर्ण कृषक समूह अन्तर्गतका नवमीडाँडाका करिब एक सय बढि कृषकहरुले मकैको मूल्य भुत्तानी नपाएका हुन् ।
फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडाका अन्नपूर्ण कृषक समूह अन्तर्गतका किसानहरुले उत्पादन गरेको १ सय पाँच क्वीन्टल मकैको विऊ अपिल एग्रो एण्ड सिड्स प्रालि फिदिमले गत माघ र फागुनमा उदारोमा खरिद गरेको थियो । प्रतिकिलो ८८ रुपैयाँको दरले विक्री गरिएको उक्त मकैको जम्मा मूल्य ९ लाख २४ हजार रुपैयाँ कृषकहरुले पाउँन बाँकी रहेको बताइएको छ । २०७९ असारसम्ममा मूल्य चुक्ता गर्ने गरी उदारो दिएको मकैको मूल्य हालसम्म नपाउँदा आफूहरु मारमा परेको कृषकहरुले गुनासो गरेका छन् ।
उता अपिल एग्रो एण्ड सिड्स प्रालि फिदिमका सञ्चालक अनु ढकालले मकैको विऊ कृषकहरुलाई नै फिर्ता पठाएको नभएर गोदाममा थन्क्याउँनका लागि मात्र पठाइएको बताईन । मकैमा धेरै घुन लागेकोले बिऊ छानेर काम नलाग्ने भए डम्पिङ गरिने र काम लाग्ने भए अर्को वर्ष प्रयोग गरिने उनको भनाई छ । यसवर्ष विऊ नचलेकोले कृषकको मूल्य चुक्ता गर्न ढिलाइ भएको स्विकार गर्दे अब चाँडै नै कृषकहरुको मकैको विऊको मूल्य चुक्ता गरिदिने उनको भनाइ छ । एकहप्ता भित्रमा कृषकहरुको मकैको मूल्य चुक्ता गरिदिने अनुरोध गर्दा समेत कृषकहरुले नमानी गाडी नियन्त्रणमा राखेको उनले गुनासो गरिन ।
शनिवार राती अबेरसम्म कृषकहरु र अपिल एग्रो एण्ड सिड्स प्रालि फिदिमका सञ्चालक बिच अन्नपूर्ण कृषक समूहको भवन नवमीडाँडामा वार्ता गरी सहमती खोज्ने प्रयास गरिएको थियो । कृषकहरुले आफ्नो मकैको मूल्य चुक्ता नहुन्जेल गाडी नछोड्ने अडान नछोडेपछि वार्ता बिना निश्कर्ष टुङ्गिएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १ : ०६ बजे