पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा पाँचथरका ८ स्थानीय तहमा उम्मेद्वारी दिएका ९ सय ३० जना उम्मेदवारहरुमध्ये निर्वाचन खर्च विवरण १ सय ९७ जनाले मात्र बुझाएका छन् । ७ सय ३३ जनाले आयोगले तोकेको समय २०७९ भदौ ७ गतेसम्मको अवधिमा समेत खर्च विवरण बुझाएनन् ।
पाँचथर जिल्लाको १ नगरापालिका र ७ गाँउपालिकाका ३ सय ६६ जना निर्वाचित र ५ सय ६४ जना पराजित उमेद्वारले आयोगले दिएको समयसिमामा खर्च विवरण बुझाउनु पर्नेमा निर्वाचित १ सय १८ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमारप्रसाद भट्टराईले जानकारी दिएका छन ।
उनका अनुसार, १ सय २३ जना उम्मेदवारले स्पष्टीकरणसहित खर्च विवरण बुझाएका छन । बाँकी नबुझाउनेलाई आयोगले थप स्पष्टीकरणसहित कारबाहीको प्रक्रियाको अघि बढाएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ९ को दफा ६४ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले तीस दिनभित्र निर्वाचन आयोगले तोकेको कार्यालयमा पेश गर्नुपर्ने र सो कार्यालयले आयोगमा पठाउनुपर्ने उल्लेख छ । यस्तै दफा ६४ को उपदफा ५ मा निर्वाचन प्रचार प्रसारको खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने दल वा उम्मेद्वारलाई निर्वाचन आयोगको प्रचलित संङघीय कानुन बमाजिम जरिवाना गर्न सक्ने उल्लेख छ ।
आयोगले उम्मेद्वारलाई खर्चको विवरण बुझाएर सम्वधित वडा कार्यलयमा खर्च विवरण सार्वजनिक गर्न परिपत्र गरेपनि विवरण नबुझाएको देखिन्छ । खर्च सार्वजनिक नगरेको खण्डमा ५ लाख रुपियाँ जरिबानासहित ६ वर्ष सम्म उमेद्वार बन्न नपाउने व्यवस्था आयोगले गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १ : ०५ बजे